काठमाडौं, ११ असोज २०८३ । लगातारको वर्षाले पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ ठाउँमा पहिरो झरेको छ । पहिरोका कारण हाल सडक अवरुद्ध छ ।
सडक खण्डको शीलत बजारमा लेदो र रुखसहितको पहिरो खसेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रले जानकारी दिए । सो क्षेत्रमा सडक छेउ भासिएको छ ।
बेनीघाट बजारनजिकको गोमती खोलामा लेदोसहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ । कृष्णभीर माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
सूचना अधिकारी मिश्रका अनुसार, ज्यामिरेघाट चौकीभीरमा ढुंगा र लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँठाउँमा ढुंगासहितको साना पहिरा खसेको छ ।
फिस्लिङ आसपासका तीन स्थान गरी करिब २०० मिटर सडकमा ढुंगा, लेदो र रुखसहितको पहिरो खसेको छ भने ३० मिटरजति सडकको आधा भाग चर्किएको छ । चुम्लिङटारमा ढुंगासहितको पहिरो खसेको छ । धारापानीको दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिए ।
सोही स्थानमा ‘कल्भर्ट’ खुलाउने काम भइरहेको र घोप्टेभीर तथा सिमलधारामा ठूला ढुंगा र लेदोसहित आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
उनका अनुसार, सबै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । अब ठूलो पहिरो नखसेमा साँझसम्म पन्छाएर सवारी सञ्चालनमा ल्याइने छ । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरण पन्छाउने काममा प्रयोग भइरहेको उनले जानकारी दिए ।






