काठमाडौँ, ७ असोज २०८३ । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएको मधुमेह (सुगर) रोगको औषधि जिलिपिड–वानको बिक्री वितरणमा रोक लगाउँदै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको नमुना परीक्षणका क्रममा उक्त औषधिको घुलनशीलता निर्धारित मापदण्डअनुसार नपाइएकाले विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम यस्तो कदम चालेको हो ।
विभागद्वारा जारी सूचना अनुसार नवलपरासीस्थित टाइम फर्मास्युटिकल्सद्वारा उत्पादित ब्याच नम्बर जीएम–०७० को १ एमजी क्षमताको जिलिपिड–वान औषधि गुणस्तरहीन भेटिएको हो ।
सो ब्याचको औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन चिकित्सक, स्वास्थ्यकर्मी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्दै उत्पादक कम्पनी तथा त्यसका प्रतिनिधिहरूलाई बजारमा रहेका औषधि तुरुन्त फिर्ता गरी सोको विवरण विभागमा पेस गर्न निर्देशन दिइएको छ ।






