Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

काठमाडौं, ५ असोज २०८३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहितको राजनीतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेका छन् ।

उनले पार्टी पनुर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोसिस गर्दै उनले यसलाई लहडको विषयम नबनाउन चेतावनी दिएका छन् ।

पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।

उनले राष्ट्रिय राजनीतिदेखि पार्टी भित्रका समस्या र आगामी कार्यभार सम्मका धारणा समेटेर ल्याएको प्रतिवेदनमा इतिहासमा पार्टी कसरी पुनर्गठन भएका थिए भन्ने दृष्टान्त समेत पेश गरेका छन् । केशरजंग रायमाझीको दरबार प्रवेशदेखि झापा आन्दोलन र २०७५ सालसम्मका विगतका तीनवटा पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याएर उनले अहिलेको अवस्था त्यस्तो त्यस्तो नभएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ रु के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छर? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन ।’

ओलीका अनुसार तीन वटा पुनर्गठन यस्ता थिए-

पहिलो-पार्टीको महासचिव रहेका केशरजंग रायमाझी अगाडिदेखि नै दक्षिणपन्थी र षडयन्त्रकारी त छँदै थिए, पछिल्लो समय उनको दक्षिणपन्थता अझ खुलस्त रुपमा प्रकट हुँदै आयो। खासगरी २०१७ सालमा राजा महेन्द्रले फौजी “कू” गरेर लोकतन्त्र अपहरण गरेपछि उनले त्यस प्रतिगामी कदमलाई स्वागत गरे र पञ्चायतको समर्थन गर्ने ठाउँमा पुगे। पार्टी केन्द्रीय कमिटीको बहुमत उनले कब्जा गरेका थिए। यस्तो अवस्थामा उनी राजावादी भइसकेको परिस्थितिमा आन्दोलन र पार्टीलाई जोगाउन पार्टी पुनर्गठन गर्नु परेको थियो। २०१८ सालमा आयोजित “दरभंगा प्लेनम” बाट उनी र उनको गुटलाई सच्चिन, सामन्तवाद र सामन्ती शक्तिको दलाल नहुन दिइएका सुझावहरु पनि नमानेपछि पार्टीको अल्पमतले नै जोनल कमिटीहरु बनाएर तिनको संयोजन र आयोजनामा पार्टीको तेस्रो महाधिवेशन गरेर पार्टीलाई पुनर्गठन गर्नु परेको थियो। नेतृत्व र पार्टीको बहुमत दक्षिणपन्थी भएको, आन्दोलन बचाउने अरु कुनै वैकल्पिक उपाय नभएको बाध्यकारी अवस्थामा पार्टीको प्रथम पुनर्गठन भएको थियो।

दोस्रो- तेस्रो महाधिवेशनपछि खास कुनै वैचारिक मतभेद रहेको अवस्था थिएन। तर, पार्टी नेतृत्वले पार्टीलाई संगठित राख्न नसकेको, कमिटीहरुले नेतृत्वसँग र आपसमा पनि सम्पर्क सम्बन्ध विहीन अवस्थामा पुगेको र सिंगै पार्टी अस्तव्यस्त हुँदै छिन्नभिन्न हालतमा निष्कृय र निकम्मा बन्न पुग्यो। पार्टी विलिनीकरण हुँदै सग्लो अस्तित्वमा नरहेपछि फेरि पार्टी र आन्दोलनमा अस्तित्वकै संकट पर्यो। एकातिर राजाको निरङ्कुशतन्त्र र पञ्चायती एकदलीय एकाधिकारवादी अधिनायकवादको चर्को दमन यस्तो बेलामा हामीले नै २०२७/०२८ सालमा झापाबाट जनवादी गणतन्त्रको स्पष्ट उद्देश्य राखेर, त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी बाटो, त्यसका रणनीति र कार्यनीति समेतका स्पष्टताका साथ नयाँ पार्टी गठन विस्तार र एकतामार्फत् व्यापक र सुदृढ संगठन निर्माण गर्ने त्यसका लागि क्रान्तिकारी सक्रियताका साथ अघि बढ्ने नीतिका साथ पार्टीको पुनर्गठन गरिएको थियो। यो दोस्रो पुनर्गठन थियो र यस पुनर्गठनमा म समेतको पहल र अगुवाई थियो। त्यो प्रयास अनेकौं दमन र प्रतिकुलताका बावजुत झापा आन्दोलन, अपील, को।के, नेकपा (माले) र एमाले हुँदै यहाँसम्म आइपुगेको छ।

तेस्रो-हामीले आन्दोलनलाई वर्तमान अत्यन्तै प्रतिकुल विश्व परिस्थितिमा समयानुकूल सही नीतिहरु तर्जुमा गर्दै, संगठन विस्तार र पार्टी एकीकरण, सफल र उपलब्धिपूर्ण काममार्फत् वि.सं. २०७५ सालसम्म आइपुग्दा निर्वाचनको बाटोबाटै लगभग दुई तिहाईको अवस्थासम्म हाम्रो पार्टी र आन्दोलनलाई पुऱ्यायौं। केहीलाई के कारणले त्यो पाच्य भएन। तिनले पार्टीमा उपद्रो मच्याएर र अन्ततोगत्वा हामीले नै एकता एकीकरणका लागि दिएको संख्याको दुरुपयोग गर्दै हामीलाई पार्टीबाट निकाल्ने, पार्टी कब्जा गर्ने र आन्दोलन सिध्याउने षडयन्त्रमा लागे। त्यति बेला फेरि हामीले मेरै पहल र नेतृत्वमा पार्टी पुनर्गठन गर्न बाध्य हुनुपर्यो र हामीले त्यसै गर्यौं। यो तेस्रो पुनर्गठन थियो, हामीले नै गरेको।

यी र यस्ता परिस्थितिमा चालिएका यस्ता बाध्यकारी र आन्दोलनका जीवनमा सकारात्मक प्रभाव पार्ने संगठनात्मक ठूला कदमहरूचाहिँ पुनर्गठन भएको उनले बताए । ‘यति बेला चले, चलाइएको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि विल्कुलै मेल खाँदैन’ ओलीले भनेका छन् ।

रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण तीनैवटा कुरालाई अहिलेको सही अर्थमा बुझ्नुपर्ने उनको धारणा छ ।

‘रूपान्तरण भनेको इतिहास मेट्नु होइन। पार्टीको सङ्घर्ष, विचार, बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन। रूपान्तरण भनेको कार्यशैली बदल्नु होस जनतासँग बोल्ने भाषा बदल्नु होस निर्णय प्रक्रिया छरितो बनाउनु होस कमिटीलाई बैठक गर्ने औपचारिक संरचनाबाट जनताको समस्या समाधान गर्ने केन्द्रमा बदल्नु होस नेतृत्वलाई आदेश दिने तहबाट सुन्ने, बुझ्ने र परिणाम दिने तहमा बदल्नु हो’ उनले भनेका छन् ।

उनले आफ्नो औचित्यता पुष्टि गर्न रुखको बिम्ब प्रयोग गरेका छन् ।

‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन। जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो’ ओलीले भनेका छन्,’ हस्तान्तरण पद खाली गर्ने आकस्मिक र मनमौजी घटना होइन।’

जिम्मेवारी, ज्ञान, अनुभव, संस्था, राजनीतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण हुनुपर्ने तर तयारीबिनाको हस्तान्तरणले रिक्तता पैदा गर्न सक्ने उनको धारणा छ ।

‘पुस्तान्तरण उमेरको अंकगणित मात्र होइन। नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव, अवसर र निर्णयमा स्थान दिने प्रक्रिया हो। उमेर कम हुनु आफैंमा योग्यता होइन, उमेर बढी हुनु आफैंमा अयोग्यता होइन। ऊर्जा र अनुभवको संयोजन आवश्यक हुन्छ’ ओलीले भनेका छन् ।

 

तपाईको प्रतिक्रिया