Online Bichar
आइतबार, आश्विन ०४, २०८३ | Sunday, September 20, 2026

जेबि खड्का 

गौरादह, ३ असोज २०८३ । शुभलक्ष्मी सहकारी संस्था गौरादहको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। गौरादह उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको साधारणसभामा संस्थाका अध्यक्ष प्रकाश कार्कीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।

अध्यक्ष कार्कीद्वारा सार्वजनिक प्रतिवेदनमा अधिकांश पुरानै योजनाहरुलाई निरंतरता दिएतापनि यस आर्थिक वर्षबाट कम्तीमा ३ जना शेयर सदस्यहरुको जमानतमा धितोसहित विशेष परियोजना कर्जाको रुपमा संस्थाले १ करोड सम्म लगानी गर्ने प्रस्ताव पेश गरेका थिए । यस प्रकारको कर्जामा २ बर्षसम्म ब्याजदर परिवर्तन नहुने जानकारी गराएका थिए। अध्यक्ष कार्कीले संस्थाले हाल सम्म सदस्यहरुलाई १ लाख सम्मको दुर्घटना मृत्यु बिमा, उपचार निति अनुरुप बढीमा ५० हजार सम्म जीवनमा एक पटक उपचार सुविधा, सदस्य राहत कोष निति अनुरुप बढीमा ५० हजार सम्म सदस्य मृत्यु राहत सुविधा सहित अन्य ३० भन्दा बढी सुविधा उपलब्ध गराउदै आएको जानकारी गराएका थिए।

सहकारीको सातौं सिद्धान्त समुदाय प्रति चासोलाई मध्यनजर गर्दै गौरादह बहुमुखी क्याम्पसलाई १ थान वटर डिस्पेनसर हस्तान्तरण गर्नुका साथै संस्थाको २८ औं स्थापना दिवसको अवसरमा गौरादह-९ मा रहेको जीवन ज्योती आधारभूत विद्यालयमा अध्ययनरत ४८ जना विद्यार्थीलाई स्टेसनरी सामग्री बितरण गरेको साधारणसभामा जानकारी गराएका थिए। संस्थाले आर्थिक बर्ष २०८३/०८४ का लागि सेयर सदस्य वृद्धि, सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम संचालन, सिर्जनात्मक क्रियाकलाप संचालन, सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी एकीकरण, संस्थाको नाममा रहेको जग्गा बिक्री गर्ने, ऋण असुलीलाई प्राथमिकतामा राख्ने प्रस्ताव पेश गरेका थिए।

साधारणसभामा संस्थाका कोषाध्यक्ष नारायण कुमार कार्कीले कोषाध्यक्षको प्रतिवेदन पेश गर्दै संस्थाको आर्थिक बर्ष २०८२/०८३ असार मसान्तसम्म ८ करोड ३९लाख ८९ हजार ४ सय शेयर पुँजी रहेको जानकारी गराएका थिए। संस्थामा ५ करोड ४१ लाख २० हजार ४५ जगेडा कोष रहेको, निक्षेप दायित्व ६४ करोड ६१ लाख ५१ हजार ९ सय ७४ रहेको प्रतिवेदन पेश गरेका थिए। साधारणसभामा लेखा सुपरिवेक्षण समितिका संयोजक श्याम दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।  हाल सम्म ३ हजार ५ सय ९७ सेयर सदस्य रहेको संस्थाले गौरादह नगरपालिकाको बैगुन्धुरा र चप्रामारी गरि २ स्थानमा सेवा केन्द्र संचालन गरि नागरिकलाई सेवा दिइरहेको संस्थाका ब्यबस्थापक तिलक कार्कीले जानकारी गराएका थिए।

संस्थाको २८ औं वार्षिक साधारणसभामा उत्कृष्ट बचत तथा ऋण कारोवार गर्ने सदस्य २० जना, नियमित बचत तर्फ १ जना, रेमिट कारोवार तर्फ १ जना, बाल बचत तर्फ १ जना, महिला समूह तर्फ सुनाखरी शुभलक्ष्मी महिला समूह, सहकारी पसलमा समान खरिद गर्नेहरु मध्ये उत्कृष्ट ७ जना, जेष्ठ सदस्य तर्फ २ जना, पूर्व संचालक तर्फ बद्री कार्की , कर्मचारी  तर्फ शुभलक्ष्मी एम्बुलेन्स चालक सुरज ताजपुरिया , शुभलक्ष्मी शैक्षिक पुरस्कारबाट ५ जना सहित जम्मा ४० जनालाई सम्मान गरिएको ब्यबस्थापक तिलक कार्कीले जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया