Online Bichar
बिहिबार, आश्विन ०१, २०८३ | Thursday, September 17, 2026

झापा, ३१ भदौ २०८३ । जिल्ला प्रशासन कार्यालय झापाले विश्वकर्मा पूजाको अवसरमा शान्ति सुरक्षा तथा जनस्वास्थ्यमा असर पर्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बुधवार सूचना जारी गर्दै विश्वकर्मा पूजालाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीसमक्ष आग्रह गरेका हुन्।

भोलि असोज १ गते मनाइने विश्वकर्मा पूजामा विगतका बर्सहरूमा उच्च आवाजमा डिजे, माइक तथा साउन्ड सिस्टम बजाउने, पटका तथा आतिशबाजी गर्ने र सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि हुने गरेको भन्दै प्रशासनले वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी त्यस्ता कार्य नगर्न आग्रह गरेको जारी गरेको सूचनामा उल्लेख छ। त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न प्रशासनले भनेको छ।

त्यस्तै पूजा स्थल, कलकारखाना, शोरुम तथा सवारी साधनको पूजा गर्ने क्रममा सडक यातायात अवरुद्ध नहुने व्यवस्था मिलाउन र मूर्ति विसर्जन गर्दा वातावरणीय स्वच्छताको ख्याल गर्न आग्रह गरिएको छ। धार्मिक तथा सांस्कृतिक पर्वलाई सामाजिक व्यवहार र प्रचलित नियमावलीअनुसार मर्यादित रूपमा मनाउन तथा अनावश्यक खर्च, तडकभडक र भड्किलो प्रदर्शन नगर्न समेत अनुरोध गरेको छ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया