काठमाडौं, २४ भदौ २०८३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छन् ।
बुधबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग नरहेको र ५८ वटै उद्योग निजी क्षेत्रलाई दिइएकाले सरकारले केही गर्न नसकेको बताइन् ।
मन्त्री यादवले ५८ वटा उद्योगले दैनिक तीन/तीन हजार सिलिन्डर मात्र काठमाडौं पठाएको भए अभाव नहुने तर उद्योगीहरूले पठाउन नमानेको बताइन् ।
काठमाडौंका लागि सोमबार ४५ हजार र मंगलबार ४८ हजार सिलिन्डर पठाइए पनि बजारमा १९–२० हजारभन्दा बढी नपुगेको उनको भनाइ छ । बाँकी सिलिन्डर कहाँ हरायो भन्ने पत्ता लाग्न नसकेको उनले बताइन् ।
उनले १०औँ पटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको र कानुनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नुपरेको उनको गुनासो छ ।
मन्त्री यादवले निजी उद्योगीहरूको एकाधिकार तोड्न नेपाल आयल निगम मातहत आफ्नै ग्यास उद्योग खोल्नैपर्ने तर्क गरिन् । देशमा धेरैमा दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको भन्दै उनले बाँकी उद्योगहरू खारेज गर्नुपर्ने धारणा राखिन् ।
जुनसुकै कम्पनीको खाली सिलिन्डर भए पनि अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न मिल्ने व्यवस्था गर्न नेपाल आयल निगमलाई कडा निर्देशन दिइएको भन्दै उनले निर्देशन उल्लंघन भए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइन् ।
मन्त्री गौरीकुमारी यादवले नागरिकको आधारभूत आवश्यकतासँग जोडिएका पाँच वस्तुहरूमा तेल, ग्यास, लुगा, खाद्यान्न र चिनीमा राज्य आत्मनिर्भर हुनैपर्ने बताइन् । मन्त्री यादवले बजारमा चिनीको अभाव हुन नदिन र मूल्यवृद्धि रोक्न एक प्रतिशत भन्सार महसुलमा कुल २५ हजार मेट्रिक टन चिनी आयात गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको जानकारी दिइन् । उनले आगामी असोज २० गतेसम्म यो परिमाणको चिनी आयात गरिसक्ने गरी आपूर्ति व्यवस्थापन भइरहेको जानकारी दिइन् ।






