Online Bichar
बुधबार, भाद्र २४, २०८३ | Wednesday, September 9, 2026

काठमाडौं, २४ भदौ २०८३ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर भएको छ ।

केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमीडिएट एजुकेसन यूपीबाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सुरु नियुक्ति लिएको पाइएको छ । केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन समयमा विभागको सहायक निरीक्षक पदमा नियुक्त लिएको र सोही प्रमाणपत्र पटक–पटक बढुवा एवं पदोन्नतिका लागि समेत पेस गरेको अनुसन्धानबाट पुष्टि भएको दाबी अख्तियारको छ । नक्कली प्रमाणपत्रका भरमा २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको अनुसन्धानबाट खुलेको छ ।

उनले नक्कली प्रमाणपत्रका आधारमा हैसियत, लाभ र सुविधा प्राप्त गरेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुरुप सजायको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया