सुर्खेत, २१ भदौ २०८३ । कालिकोटमा भारी वर्षा भएपछि बाढी, पहिरो, चट्याङ र सडक अवरोधको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले आइतबार अपिल जारी गर्दै सम्भावित विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन तथा विपद्को अवस्था आए सूचना सम्प्रेषण, उद्धार र राहत कार्यमा जुट्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
प्रशासनले पहिरोको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउँदै सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको छ। त्यस्तै, कर्णाली र तिलालगायतका नदी किनारमा रहेका बस्तीका बासिन्दालाई पनि आवश्यक सुरक्षा सतर्कता अपनाउन भनिएको छ ।
भारी वर्षाका कारण सडक अवरुद्ध तथा यात्रा जोखिमपूर्ण हुन सक्ने भएकाले यात्रा गर्नुअघि र यात्रा गरिसकेपछि मौसमसम्बन्धी जानकारी लिन प्रशासनले अनुरोध गरेको छ। आवश्यक सुरक्षा उपाय अपनाएर मात्र यात्रा गर्नसमेत अपिलमा भनिएको छ।
वर्षातको समयमा खोला तथा नदी किनारमा नदीजन्य पदार्थ संकलन गर्ने, काठ–दाउरा खोज्ने, माछा मार्ने तथा गाईबस्तु चराउने कार्य नगर्न र त्यस्ता प्रयोजनका लागि कसैलाई पनि नपठाउन प्रशासनले आग्रह गरेको छ।
विपद्का समयमा बढी जोखिममा रहने गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिको विशेष हेरचाह र संरक्षण गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शर्माले मनसुनको समयमा अफवाहमा भन्दा आधिकारिक सूचनामा विश्वास गर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन जिल्लावासीलाई आग्रह गरेका छन्। प्रशासनले ‘सतर्कता नै सुरक्षा हो’ भन्ने सन्देशसहित आफू र समुदायको सुरक्षामा जिम्मेवार बन्नसमेत अपिल गरेको छ ।
विपद्सम्बन्धी घटना भए तत्काल नजिकको प्रहरी चौकी, वडा कार्यालय वा स्थानीय तहमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ। त्यसका साथै जिल्ला प्रशासन कार्यालय कालिकोटको ९८५८३३७७७७, नेपाली सेना देवी बक्स गुल्मको ९८५८३९१०७०, जिल्ला प्रहरी कार्यालयको १००र९८५८३३५५५५, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मको ९८५१०५११३५, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको ९८४७८३७०६६ र सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८३२०७५१ मा सम्पर्क गर्न सकिने जनाइएको छ।






