Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

 

काठमाडौं, २८ फागुन । दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टाेलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेकाे पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदै छ । याे खेल नेपालमा पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा हुँदै छ ।

सार्कका आठ मुलुकमध्ये याे प्रतियोगितामा भने नेपालसहित ६ देशले मात्र सहभागिता जनाएका छन् ।  पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल पतियोगितामा नेपालसहित माल्दिभ्स, भुटान, भारत, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा जित हात पार्ने उच्च मनोबलका साथ विराटनगर पुगेको नेपाली राष्ट्रिय महिला टोलीले उद्घाटन तथा पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । उद्घाटन खेल विराटनगस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरू हुनेछ ।

नेपालसहित बङ्गलादेश र भुटान समूह ‘ए’ रहेका टिम हुन भने भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा रहेका टिम हुन् । नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ । साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल र भुटान दुई पटक आमने–सामने भएका छन् । नेपालले दुवै खेलमा भुटानलाई ८–० ले पराजित गरेको छ ।

अन्तर्राष्ट्रियस्तरको पछिल्लो पाँच खेलमा दुईमा जीत, दुईमा हार र एक बराबरी खेलेको नेपाली टोलीकोे प्रदर्शन सन्तुलित छ । साफ महिला च्याम्पियनसिपको सबै संस्करणमा भाग लिएको भुटानले कुनै संस्करणमा पनि समूह चरण पार गर्न सकेको छैन् । भुटानले अहिलेसम्म एउटै पनि खेलमा जीत निकाल्न सकेको छैन् । चार संस्करणमा १२ खेल खेल्दा भुटानले ३ गोल गर्दा ७२ गोल खाएको छ । यो पटक पनि भुटानको टिम त्यती बलियो मानिएको छैन ।

अघिल्ला चार संस्करणमध्ये ३ संस्करणमा नेपाल फाइनलमा भारतमा पराजित भएको थियो । अघिल्लो संस्करणमा भने नेपाल भारतसँगै सेमिफाइनलमा स्तब्ध भएको थियो ।

नेपालको सम्भावित टिम सेट

फर्मेसनः ४-४-२
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा
डिफेन्सः हिरा कुमारी भुजेल, पुनम जर्घामगर, अमृता जैशी, गिता राना, मनमाया लिम्बु
मिडफिल्डः अनिता बस्नेत, दिपा राइ, रेनुका नगरकोटी, मन्जलीकुमारी योञ्जन
स्ट्राइकरः निरू थापा, सावित्रा भण्डारी

तपाईको प्रतिक्रिया