काठमाडौं, १५ भदौ २०८३ । विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि ज्यादती गरेमा सरकारले कडा कारबाही गर्ने भएको हो । बजारभाउ अनुगमनका लागि सरकारले १६ वटा अनुगमन टोली विभिन्न ठाउँमा खटाएको छ । उनीहरूले खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुको बजार भाउबारे अनुगमन गर्नेछन् ।
सोमबार उद्योगमन्त्री गौरीकुमारी यादवले ठूला गोदाम तथा खुद्रा पसलमा प्रभावकारी अनुगमन गर्न टोलीलाई निर्देशन दिएकी छिन्। ”बजारमा कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलबाड गर्ने काम कुनै पनि हालतमा सह्य हुनेछैन,” मन्त्रीको यादवको भनाइ छ ।
उपभोक्तामाथि ठगी, कालोबजारी वा अत्यधिक मूल्यवृद्धि गरेको पाइएमा कसैको दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन मन्त्री यादवले अनुगमन टोलीलाई भनेकी छिन् ।
मन्त्री यादवले अनुगमन प्रणालीमा देखिएका कमजोरी दोहोरिन नदिन कर्मचारीहरूलाई निर्देशन दिइन् । छलफलमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले अनुगमनमा जनशक्ति अभाव हुन नदिने बताए ।






