Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौं, १५ भदौ २०८३ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।

नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलिकोप्टर लिएर नुवाकोटको त्रिशूली पुगेको थियो। उक्त टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशुली थ्री बी को सुरुङ क्षेत्र पुगेको हो।

लगत्तै यो टोलीले माथिल्लो त्रिशूली थ्री बीको सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो। त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई बस्तुस्थितिबारे जानकारी गराएको थियो।
भदौ १४ गते भने सो चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रीत भएको थियो। यता सोही दिन त्रिशूली थ्री बी मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्धारा खोज तथा उद्धारको प्रयास सुरू भएको थियो।

आज बिहान ९ बजेतिर नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्रमा खन्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंका गरिएको छ।

तपाईको प्रतिक्रिया