Online Bichar
मंगलबार, भाद्र १६, २०८३ | Tuesday, September 1, 2026

काठमाडौं, १५ भदौ २०८३ । रसुवाको भोटेकोसीमा आएको बाढीमा परेकाहरूको उद्धारको अवस्था तथा चुनौतीबारे प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन् ।

सोमबार (भदौ १५) बिहानदेखि नै प्रधानमन्त्री बालेनले नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका प्रमुखहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिएका हुन् । सुरक्षा निकायका प्रमुखहरूले बाढी प्रभावित र उद्धारबारे उनलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री बालेनले प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग ब्रिफिङ लिएका थिए । त्यसक्रममा सुरक्षा प्रमुखहरूले फिल्डमा उद्धारका क्रममा देखिएको चुनौती तथा योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका हुन् ।

एक सुरक्षा संगठन प्रमुखका अनुसार भेटमा क्रममा प्रधानमन्त्रीलाई भोटेकोसीको बहावमा समय–समयमा हुने परिवर्तन, प्रभावित क्षेत्रसम्म पुग्ने कनेक्टिभिटीले उद्धारमा चुनौती थपिएको ब्रिफिङ भएको थियो । त्यस्तै, नदी किनारामा थुप्रिएको लेदोले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको ब्रिफिङ प्रधानमन्त्रीलाई गराइएको उनले जानकारी दिए ।

प्रधानमन्त्री बालेनले उद्धारको विषयलाई लिएर केही आलोचना हुन थालेको भन्दै आवश्यकताका आधारमा उद्धारमा जतिसक्दो चाडो रेस्पन्स गर्न निर्देशन दिएका थिए ।

ती अधिकारीले भने, ‘हामी समूहिक रूपमा नै उद्धारमा खटिएकाबारे जानकारी गराएका थियौँ । चुनौतीबारे पनि जानकारी भयो नै । तर, उहाँको मूख्य कन्सर्न चाडो रेस्पन्स हुनुपर्ने भन्ने थियो ।’

ती अधिकारीका अनुसार लेदोका कारण बिनाप्रविधि उद्धारमा जाँदा उद्धारमा खटिएका सुरक्षाकर्मी नै जोखिममा पर्नेबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । कतिपय शवहरू नदीको किनारामा देखिँदा पनि जान नसक्नुको कारण लेदो नै रहेको उनीहरूले बताएका थिए ।

यसबाहेक नदी किनार क्षेत्र उत्खनन् गरेर शव निकाल्न नसक्ने निष्कर्षसहितको ब्रिफिङ पनि सुरक्षा प्रमुखहरूले गरेका छन् ।

भदौ १० गते बिहान रसुवाको भोटेकोसीमा आएको बाढीलगत्तै सरकारले उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मीको टोली खटाएको छ । बाढीमा परेकाको तत्काल उद्धारका लागि सरकारले नेपाली सेनासहित निजी क्षेत्रका हेलिकोप्टरहरू पनि परिचालन गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका गरी २० हजारभन्दा बढी सुरक्षाकर्मी फिल्डमा उद्धारका लागि खटिएका छन् ।

तपाईको प्रतिक्रिया