काठमाडौं, १४ भदौ २०८३ । सरकारले बाढी प्रभावित क्षेत्रमा जथाभाबी ड्रोन उडाउन निषेध गरेको छ । रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा स्वीकृतविना ड्रोन उडाउन सरकारले निषेध गरेको हो ।
जथाभाबी ड्रोन उडाउँदा हवाई सुरक्षामा असर पुगिरहेको भन्दै स्वीकृति नलिई ड्रोन उडाउनेलाई कारबाहीको चेतावनी सरकारले दिएको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ,”उद्धार कार्य भइरहेको समयमा केही व्यक्ति तथा संस्थाहरूबाट स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडान गरिरहेको पाइएको छ । यसबाट हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भई उद्धार कार्य प्रभावित हुने देखिन्छ । नियमानुसार अनुमति नलिई ड्रोन उडाएमा कारबाही हुनेछ ।”
बाढी प्रभावितहरूको उद्धारका लागि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर उद्धारमा तैनाथ रहेकाले त्यसमा बाधा नपुर्याउन गृह मन्त्रालयले भनेको छ ।






