Online Bichar
सोमबार, आश्विन २६, २०८३ | Monday, October 12, 2026

काठमाडौं, १२ भदौ २०८३ । चीनले बाढीको जोखिम नटरकेको संकेत गर्दै नेपाललाई आपत्कालीन प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार एक वक्तव्य जारी गर्दै नेपाललाई उक्त अनुरोध गरेका हुन् ।

दूतावासका प्रवक्ताका अनुसार हालैका दिनहरूमा, चीन–नेपाल सीमा नदीको माथिल्लो तटीय क्षेत्रको नेपाली भूभागमा पर्ने एक सहायक नदीमा हिम–पहिरो (बर्फ र चट्टानको पहिरो) जाँदा नदी थुनिएर सीमा क्षेत्रमा पहिरो–जन्य ताल (कृत्रिम ताल) बनेको छ ।

उक्त पहिरो–जन्य तालमा हाल पानीको सतह उच्च विन्दुमा पुगेको र ओभरफ्लो (पानी बाहिरिन) थालेको छ, जसले गर्दा थप ताल फुट्ने जोखिम बढेको चिनियाँ दूतावासका प्रवक्ताको भनाई छ ।

“नेपाल र चीन दुवै देशका लागि उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले यो स्थिति हाल निकै संवेदनशीलरनाजुक मोडमा छ। पहिरोजन्य तालको तल्लो तटीय क्षेत्रमा रहेका स्थानीय समुदाय तथा सम्बद्ध कर्मचारीहरूलाई नदीको पानीको सतहमा हुने परिवर्तनलाई नजिकबाट नियाल्न, उच्च सतर्कता अपनाउन र पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिन्छ,” चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन् ।

चीन र नेपालका सम्बन्धित निकायहरूले स्थितिको निरन्तर अनुगमन गर्दै जोखिमको मूल्यांकन र व्यवस्थापन गरिरहेको वक्तव्यमा उल्लेख छ ।

सर्वसाधारणलाई आधिकारिक सूचनाहरू मात्र पछ्याउन, पुष्टि नभएका खबरहरू नफैलाउन र अनावश्यक त्रास सिर्जना नगर्न चिनियाँ दूतावासले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया