काठमाडौं, ११ भदौ २०८३ । नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीका कारण घाइते भएका २९ जनालाई उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।
पछिल्लो विवरणअनुसार बिहीबार साँझसम्म बाढीमा घाइते भएका २९ जना उपचारका लागि सेन्टरमा भर्ना भएका छन् । तीमध्ये १३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनालाई थप उपचारका लागि वीर अस्पतालमा रेफर गरिएको छ ।
शाखा अधिकृत शिव कुमार निरौलाका अनुसार, हाल ट्रमा सेन्टरमा १३ जना घाइते उपचाररत छन् । उपचाररत घाइतेमध्ये एक जनाको आईसीयू र एक जनाको एचडीयूमा उपचार भइरहेको छ । बाँकी घाइतेलाई सामान्य वार्डमा राखेर उपचार तथा निगरानी भइरहेको सेन्टरले जनाएको छ ।
ट्रमा सेन्टरको विवरणमा घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको उल्लेख छ । केहीमा टाउको तथा शरीरभरि चोट लागेको र केहीको अवस्था स्थिर रहेको जनाइएको छ । घाइतेमध्ये एक महिलाको हातमा चोट लागेकाले शल्यक्रिया गरिएको छ ।
सेन्टरमा उपचाररत घाइतेहरूमा विभिन्न उमेर समूहका व्यक्ति रहेका छन् । विवरणअनुसार ८ वर्षदेखि ६८ वर्षसम्मका घाइते उपचारका लागि ल्याइएको पाइएको छ । उनीहरू रसुवा, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका स्थानीय तथा बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरू हुन् ।
निरौलाका अनुसार घाइतेहरूको चोटको प्रकृति र स्वास्थ्य अवस्थाका आधारमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका बिरामीलाई आईसीयू तथा एचडीयूमा राखेर विशेष निगरानी गरिएको छ ।
सेन्टरले अस्पताल परिसरमा अनावश्यक भिड नगर्न तथा घाइते र बिरामीहरूको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी अनुमति बिना अन्तर्वार्ता तथा भिडियो फुटेज नलिनसमेत अनुरोध गरेको छ ।






