काठमाडौं, ११ भदौ २०८३ । विपद व्यवस्थापन प्राधिकरणले रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ठूलो ताल बनेको प्रारम्भिक अध्ययनबाट देखिएको उल्लेख गरेको छ । ताल फुटेर बाढी आउने जोखिम भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ ।
प्राधिकरणका अनुसार आज बिहान ११:४४ बजे प्राप्त प्लानेट ल्याब्स र ल्याण्डस्याटका स्याटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनअनुसार उक्त क्षेत्रमा करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको देखिएको छ ।
खोलाको बहाव अवरुद्ध भएपछि बनेको उक्त तालको प्राकृतिक बाँध फुट्न सक्ने जोखिम अझै कायम रहेको प्राधिकरणले जनाएको छ । प्राकृतिक बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको गरिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सावधानी अपनाउन र उच्च सतर्कताका साथ रहन प्राधिकरणले भनेको छ ।






