काठमाडौं, ११ भदौ २०८३ । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव समूहका ८० जना विदेशी तीर्थयात्री सम्पर्कविहीन भएका छन् । एक भिडियो सन्देशमा सद्गुरुले दिएको जानकारी अनुसार, सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालसहित विभिन्न २० देशका नागरिक छन् । समूहमा ३४ पुरुष र ४६ महिला रहेको उनले बताएका छन् ।
उनका अनुसार समूहमा अमेरिकाका २२, क्यानडाका १२, अस्ट्रेलियाका ११, बेलायतका ९, जर्मनीका ४, फ्रान्सका ३ र नेपालका ३ जना छन् ।
त्यस्तै नेदरल्यान्ड्स, न्युजिल्यान्ड, सिंगापुर र स्पेनका २–२ तथा फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, पोर्चुगल, रुस र दक्षिण अफ्रिकाका एक–एक जना रहेको उनले जानकारी दिएका छन् ।
सद्गुरुका अनुसार समूहका सदस्यहरू तिब्बतको सागामा भेटिएका थिए । उनीहरू सीमा क्षेत्रतर्फ जाँदै गर्दा आफूहरूले बाटोमै भेटेको र पछि उनीहरू नेपालतर्फ फर्किरहेका बेला पनि भेट भएको उनले बताएका छन् ।
उनका अनुसार समूहका नेता ईशा अंगा प्रविणले बिहान ९ बजेर ५ मिनेटमा आफूहरू अध्यागमन कार्यालय पुगेको जानकारी गराएका थिए । त्यसको करिब नौ मिनेटपछि, अर्थात् ९ बजेर १४ मिनेटतिर, सीमाक्षेत्रमा भीषण बाढी आएको थियो ।
‘प्रविण दुई दशकभन्दा बढी समयदेखि हामीसँग आबद्ध छन् । उनले टोलीको नेतृत्व गरिरहेका थिए,’ सद्गुरुले भनेका छन्, ‘उनले अध्यागमन पुगेको जानकारी गराएपछि नेपालतर्फको मोबाइल फोनमा सम्पर्क हुन सकेन ।’
सद्गुरुका अनुसार अहिलेसम्म पनि सो समूहका सदस्यहरुसँग सम्पर्क हुन सकेको छैन । सीमाक्षेत्रमा सबैजसो दूरसञ्चार सेवा अवरुद्ध भएको, सडकहरू अवरुद्ध भएको र घटनास्थलसम्म पुग्ने अवस्था नरहेको उनले बताएका छन् ।
उनले सीमाक्षेत्रमा रहेको अध्यागमन कार्यालयको भवनसमेत बाढीले बगाएको बताएका छन् । आफूहरू करिब एक साताअघि अध्यागमनका लागि बसेको भवन पूर्ण रूपमा बगाएको र सीमावर्ती बस्तीको ठूलो हिस्सा समेत बाढीले बगाएको उनको भनाइ छ । ‘विनाशको स्तर हेर्दा अवस्था निकै गम्भीर देखिन्छ,’ सद्गुरुले भनेका छन् ।
उनका अनुसार घटनापछि भारत र नेपालमा रहेका सम्बन्धित देशका दूतावासहरूलाई तत्काल जानकारी गराइएको छ । साथै भारतीय दूतावास, चिनियाँ दूतावास तथा अमेरिकी दूतावासमार्फत घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्यमा सहयोग गर्न अनुमति लिने प्रयास भइरहेको छ ।
सद्गुरुले घटनास्थलमा रहेका नेपाली गाइड तथा उनीहरूका परिवारका सदस्यहरूको अवस्थासमेत यकिन हुन नसकेको बताएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको संख्या पनि अहिलेसम्म स्पष्ट नभएको उनको भनाइ छ ।
भारतीय सञ्चारमाध्यममा नेपालतर्फ करिब ४८४ जना सम्पर्कविहीन भएको विवरण आएको उल्लेख गर्दै सद्गुरुले प्रभावित वा सम्पर्कविहीन हुनेको संख्या १ हजार ५०० भन्दा बढी हुन सक्ने अनुमान गरेका छन् । तर यो संख्या आधिकारिक रूपमा पुष्टि नभएको उनले स्पष्ट पारेका छन् ।
बाढीको कारणबारे पनि अहिलेसम्म यकिन जानकारी प्राप्त नभएको सद्गुरुले बताएका छन् । केही नेपाली सञ्चारमाध्यमले घटनाभन्दा करिब आधा घण्टाअघि ४।९ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरे पनि त्यसको पुष्टि हुन नसकेको उनले बताएका छन् । कुनै ताल वा नदी फुटेर अचानक बाढी आएको हुन सक्ने अनुमानसमेत गरिएको छ ।
सद्गुरुले घटनालाई ‘असाधारण र अत्यन्त दुःखद’ भनेका छन् । उनले सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवारलाई समेत घटनाबारे जानकारी गराइसकेको बताएका छन् ।






