काठमाडौं, ११ भदौ २०८३ । नेपाल टेलिकमले बाढीप्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई थप ३ दिन निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले यसअघि दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने निर्णय गरेको थियो । अब भदौ १२, १३ र १४ गतेसम्म सो सुविधा उपलब्ध गराउने भएको छ ।
कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले उक्त सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
बाढीले भौतिक संरचनामा क्षति पुगे पनि सेवा नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भएरहेको जानकारी टेलिकमले दिएको छ।






