Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौं, ८ भदौ २०८३ । संविधानको धारा २० को उपधारा ५ ले कुनै पनि व्यक्तिलाई कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने हक दिएको छ । यही उपधारा अनुसार महान्यायाधिवक्ता कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार नै गरेर कुनै पनि कसुरमा पक्राउ परेका आरोपितलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक नगर्न पत्राचार गर्‍यो ।

हाल कुनै पनि प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दा आरोपितहरूलाई सार्वजनिक गर्दैन । मुलुकी फौजदारी संहिता २०७४ को दफा १२ ले पनि कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ ।

पक्राउ पछि आरोपितलाई अपराधी प्रस्तुत गर्ने, उसको अनुहार सार्वजनिक गर्ने कार्य गैर कानुनी हुने उल्लेख छ । यता बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि विवादमा परेका बालबालिकाको गोपनीयता र विशेष संरक्षणको व्यवस्था गरेको छ ।

ऐनले आरोपित बालबालिकाको बयान लिँदा कानुन व्यवसायीको अनिवार्य उपस्थिति नगराउनु र सार्वजनिक गर्नुलाई गैरकानुनी मानेको छ । यी सबै कानुनी प्रक्रिया तोडेर बारामा पक्राउ परेका एक आरोपी बालको भिडिओ भने सामाजिक सञ्जालभर भाइरल गरिएको छ ।

केही सञ्चार माध्यले उनको तस्बिर प्रयोग गरेर समाचारसमेत बनाएका छन् । बारा जितपुर सिमरा उपहानगरपालिका–१ दशधुराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्याका आरोपी १६ वर्षीय नाबालकको भिडिओ त्यसरी सार्वजनिक भएको हो ।

साउन ३१ गते हराएकी बालिकाको शव बलात्कार पछि हत्या गरिएको अवस्थामा तीन दिनपछि भदौ २ गते दशधराकै एक घरमा फेला परेको थियो । प्रहरीको अनुसन्धानको क्रममा बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा भदौ ३ गते नै ती नाबालक पक्राउ परेका थिए । यो घटनाको सुरुवाती अनुसन्धानमै प्रहरीको कमजोरी देखिएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय सांसद रहबर अन्सारीले त संसद्को बैठकमै एक नालायक प्रहरीका कारण बालिकाको ज्यान गएको भन्दै कारबाहीको माग नै गरेका थिए । त्यो बेला ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखमा डीएसपी दिलीप क्षेत्री थिए ।

उनको अनुसन्धान र सक्रियतामै संसददेखि स्थानीयले सडकसम्म विरोध भएपछि क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ । हाल सिमरा प्रहरीमा अर्का डिएसपी दयाकृष्ण भट्टलाई जिम्मेवारी दिइएको छ ।

कसले गरेका थिए भिडिओ रेकर्ड, कसरी भयो लिक ?

प्रहरीले बालिका बलात्कारको आरोपमा हालसम्म मुख्य आरोपीसहित ९ जनालाई पक्राउ गरिसकेको छ । सोमबारसमेत प्रहरीले सिमराकै एक नाबालकलाई पनि पक्राउ गरेको छ ।

पक्राउपर्नेहरु सबै १६ वर्षमुनिका छन् । यसरी पक्राउ परेकाहरूमध्ये एकजनाले बलात्कार र हत्याबारे बालेको भिडिओ भने भाइरल छ । आइतबारदेखि सार्वजनिक भएको उक्त भिडिओ कुनै कार्यालयभित्र सोधपुछ गर्दाको जस्तो देखिन्छ । ती नाबालक बोलिरहँदा उनको साइडमा हतियारसहितको प्रहरी पनि बसेको देखिन्छ ।

उनको साइडमा एक जना सादा पोसाकका प्रहरीसमेत बसेको देखिन्छ । एक जना अर्को प्रहरी भने नि नाबालक बोल्दै गर्दा उनको पछाडिबाट हिँडेको देखिन्छ । भिडिओ कुनै कार्यालयभित्रको जस्तो देखिन्छ । उनको हातमा हत्कडीसमेत लगाइएको छ । टेबलमा बसिरहेका व्यक्तिले उनलाई घटनाबारे सोधपुछ गरिरहेको देखिन्छ ।

कालो टिसर्टमा खैरो हाप पाइन्टमा देखिएका ती नाबालकले बालिका बलात्कारअघिको अवस्था र हत्यापछिको विस्तृत जानकारी गराइएको देखिन्छ । उनी बालिकाको बलात्कारमा अर्को व्यक्तिबारे समेत जानकारी गराएको छ।

भिडिओमा पक्राउ परेका ती नाबालकमा न अपराधबोध देखिन्छ न पश्चाताप न कुनै चित्ता नै । भिडिओको अन्त्यतिर उनको पछाडिबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) समेत आएर नजिकैको सोफामा बस्छन् । उनीसमेत नाबालक बोलिरहेको सुनिरहेको देखिन्छ । सोही भिडिओ अहिले भाइरल भएको हो ।

भिडिओ भाइरल भएपछि भने प्रहरीले भिडिओ रेकर्ड गर्ने र सार्वजनिक भएको भिडिओबारेसमेत अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले भिडिओबारे प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले भने,‘‘भिडिओ सार्वजनिकबारे हामीले अनुसन्धान थालेका छौ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागबाट बारा प्रहरीलाई घटनाबारे के कसो हो भनेर जानकारी गराउन पत्राचार नै गरिएको छ । अहिले अनुसन्धानकै क्रममा छौँ ।’’

बारा प्रहरी स्रोतले भने सार्वजनिक भएको भिडिओ एकद्वार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० को कार्यालयमा खिचिएको बताए । ती अधिकारीले भने,‘‘प्रहरी कार्यालय भित्रको भिडिओ होइन । ओसीएमसीको कार्यालयमा खिचिएको भिडिओ हो । कसले सावर्जनिक गरे भन्नेबारे भने अनुसन्धान हुँदैछ ।’’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालित ओसीएमसी हिंसापिडीतहरुलाई छिटो सुरक्षित र प्रभावकारी ढंगले सबै सुविधा एकै ठाउँबाट उपलब्ध सेवाहरू दिने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।

यसमा मनोसामाजिक परामर्श, कानुनी सहयता र सुरक्षासम्बन्धीका सेवाहरु एकै ठाउँबाट सञ्चालन हुन्छन् । यो सेवा २०६९ सालदेखि सुरु भएको हो । तर,यही कार्यालयबाट बालिका बलात्कारजस्तो जघन्य अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका नाबालकको भिडिओ सार्वजनिक भएको हो ।

ओसीएमसी कार्यालय बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालभित्र नै राखिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले भिडिओ सार्वजनिक गर्ने व्यक्तिबारे अनुसन्धान भइरहेको बताए ।

एसपी कुँवरले भने,‘‘ भिडिओ कहाँ को र कसरी खिचियो भन्नेबारे अनुसन्धान गर्दैछौँ । केहीले भिडिओ खिचेको मात्रै पनि देखिन्छ । तर, सार्वजनिक गर्नेलाई कारबाही त हुन्छ नै ।’’

बारा प्रहरीले भिडिओमा देखिएका प्रहरी कर्मचारीविरुद्ध भने फौजदारी कसुरमा अनुसन्धान थालेको छ । उनीहरूलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । अन्यको हकमा समेत अनुसन्धान सुरु भएको छ ।बाह्रखरीबाट

 

तपाईको प्रतिक्रिया