झापा, ८ भदौ २०८३ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
पक्राउ पर्नेमा जिल्ला बिर्तामोड नगरपालिका–३ स्थायी घर भएका बिमल राजवंशी रहेका छन्।उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो।
एनसीबी काठमाडौं र एनसीबी मस्कट, ओमनको संयुक्त पहलमा राजवंशीलाई ओमनबाट पक्राउ गरिएको हो। त्यसपछि एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले कतार एयरवेजमार्फत उनलाई नेपाल ल्याएको हो।
उनी शनिबार बेलुका १६ः२९ बजे नेपाल आइपुगेपछि पक्राउ गरिएको थियो । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।






