Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, ७ भदौ २०८३ । जापानको फुकुओकास्थित नाकागावा नदीमा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी मृत फेला परेकी छन् ।

अगस्ट १९ मा नदीमा तैरिरहेको अवस्थामा उनको शव भेटिएपछि जापानी प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको छ ।

सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी लक्ष्मी त्यहाँको एक भाषा विद्यालयमा अध्ययनरत थिइन् । उनी स्थानीय एक रेस्टुरेन्टमा आंशिक समय काम गर्दै आएकी थिइन् ।

अगस्ट १८ को राति करिब १०:३० बजे उनी काम गर्ने रेस्टुरेन्टबाट साइकलमा डेरातर्फ जाँदै गर्दा सहकर्मीले उनलाई अन्तिम पटक देखेको बताइएको छ । अगस्ट १९ को बिहान ५:४५ बजे नदीमा उनको शव फेला परेको थियो । उनको साथमा व्यक्तिगत सामान भने फेला नपरेको प्रहरीले जनाएको छ ।

शव परीक्षणबाट मृत्युको स्पष्ट कारण खुल्न नसके पनि उनको टाउको र निधारमा कुनै वस्तुले प्रहार गरेको गम्भीर चोट फेला परेको छ । साथै, उनको कोठामा रगतका दाग र हात हालाहाल भएको संकेतसमेत भेटिएको बताइएको छ ।

प्रहरीले उनको डेराको ढोकामा जबरजस्ती प्रवेश गरेको वा कोठामा तोडफोड भएको कुनै स्पष्ट संकेत भने फेला नपरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया