Online Bichar
सोमबार, भाद्र ०१, २०८३ | Monday, August 17, 2026

झापा, ३१ साउन २०८३ । चौधौ महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनमा सिटौला समूहबाट उम्मेदवारी दिएर जिल्ला सभापति बनेका देउमान थेबेले पनि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ छोडेका छन् ।

नेतृत्व पुस्तान्तरणको सोच लिएका थेबेले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई साथ दिने भएका छन् । सामाजिक संजालमा उनले भनेका छन् ,‘ आज म एउटा कुरा विशेष रूपमा भन्न चाहन्छु—अब युवाहरू अघि आउनुपर्छ। जसरी म युवा हुँदा परिवर्तन र लोकतन्त्रको यात्रामा उभिएको थिएँ, त्यसरी नै आजका युवाले देश र पार्टीको भविष्य सम्हाल्नुपर्छ। नेतृत्व पुस्तान्तरण होस्, नयाँ सोच आओस् र नयाँ पुस्ताले जिम्मेवारी लिओस्‌—म त्यसको स्वागत गर्छु।

म गलतलाई सही भन्न सक्दिनँ, चाहे त्यो आफ्नै मान्छे वा आफ्नै पार्टीभित्र किन नहोस्। जहाँ जनताको हितमा बोल्नुपर्छ, बोल्नेछुस जहाँ सहयोग गर्नुपर्छ, उभिनेछु।हिजो लोकतन्त्रका लागि लडेँ,आज कठिन समयमा पनि उभिएको छु।’

हिजो हातमा नेपाली कांग्रेसको झण्डा बोकेर लोकतन्त्रका लागि सडकमा उत्रिएको स्मरण गर्दै उनले आज कांग्रेस कमजोर देखिएको बेला पनि त्यही झण्डा बोकेर जनताको बीचमा शिर ठाडो पारेर उभिएको बताएका छन् ।

उनले भनेका छन्,‘जब लोकतन्त्रका लागि संघर्ष सुरु भयो, म पनि युवा थिएँ। हातमा झण्डा, मनमा जोश र आँखामा देशको उज्यालो भविष्यको सपना बोकेर त्यो यात्रामा होमिएको थिएँ। आज पछाडि फर्केर हेर्दा, त्यो संघर्षको एउटा हिस्सा बन्न पाएकोमा गर्व लाग्छ। समय बदलियो, राजनीति बदलियो, परिस्थितिहरू बदलिए। आज नेपाली कांग्रेस कठिन र कमजोर अवस्थामा देखिए पनि मेरो विश्वास कमजोर भएको छैन। सजिलो समयमा साथ दिनु मात्र प्रतिबद्धता होइनस कठिन समयमा पनि विचार र मूल्यका साथ उभिन सक्नु नै साँचो निष्ठा हो।

मेरो राजनीतिक पहिचान नेपाली कांग्रेस हो। मेरो विश्वास लोकतन्त्र, स्वतन्त्रता, जनताको अधिकार र देशको समुन्नत भविष्यमा छ।’

 

तपाईको प्रतिक्रिया