Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

झापा, ३० साउन २०८३ । फागुन २१ को निर्वाचन हारेको पाँच महिनापछि नेकपा एमालेका अध्यक्ष केपी ओली गृहजिल्ला झापा आएका छन् ।

प्रतिनिधि सभा निर्वाचनपछि ओली पहिलोपटक गृहजिल्ला झापा हुँदै इलाम पुगेका हुन् । एमाले अध्यक्ष ओलीले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

फिक्कलमा आज आयोजित एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको चौथो पूर्ण बैठकको उद्घाटन गर्दै ओलीले वर्तमान सरकार जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाए ।
उनले सरकार जनताका दैनिक समस्या समाधान गर्न, विकास र सुशासनका सवालमा गम्भीर बन्न नसकेको आरोप लगाए ।

ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले देशलाई सही दिशामा अघि बढाउन नसक्ने दाबी गरे । सरकारको प्राथमिकता जनताको समस्या समाधान र मुलुकको विकास हुनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिएको उनको आरोप थियो ।

“हामी विचलित हुनुपर्ने कुनै आवश्यकता छैन, यो देश तपाईँ–हाम्रो हो । तपाईँ–हामीले यो देशको माया गर्नुपर्छ, यो देश बनाउनुपर्छ,” ओलीले भने ।उनले सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोपसमेत लगाए । आफू, रमेश लेखक र अन्य नेताहरूलाई पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने प्रयास भएको दाबी गर्दै ओलीले सरकारको कदमप्रति आपत्ति जनाए ।

सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगको निष्पक्षतामाथि पनि ओलीले प्रश्न उठाए । छानबिनको प्रक्रिया सबैका लागि समान हुनुपर्ने भन्दै उनले राजनीतिक पूर्वाग्रहका आधारमा व्यक्तिलाई लक्षित गर्न नहुने बताए ।सुनसरीमा भएको घटनाको प्रसङ्ग निकाल्दै ओलीले सरकारमाथि सामाजिक तथा साम्प्रदायिक तनाव बढाएको आरोप लगाए । सरकारकै गतिविधिका कारण विवाद र हिंसा भड्किएको उनको दाबी थियो ।

ओलीले आदिवासी जनजातिका अधिकार, पहिचान र समान सहभागिताका विषयमा एमाले प्रतिबद्ध रहेको बताए । जनजाति समुदायका सवाललाई राजनीतिक रूपमा स्थापित गर्न लोकतान्त्रिक आदिवासी जनजाति महासंघलाई थप सशक्त र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

बैठकमा एमाले सचिव भानुभक्त ढकाल, सचिव शेरधन राई, नेता विशाल भट्टराई, भगवती चौधरीलगायतका नेताहरू सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया