Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

काठमाडौं, ३० साउन २०८३ । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका छन् । शनिबार (साउन ३०) काठमाडौंको महाराजगन्जस्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग उनले यसबारेमा आफूहरूले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिएको बताए ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसबारेमा आफूले धेरै नबोल्ने उनले उल्लेख गरे । अदालतबाट आफूहरूले न्याय पाउने उनले विश्वास व्यक्त गरे ।

“विशेष महाधिवेशनको पक्षमा म थिइनँ । हामीले मुद्दा दिएका छौँ, मुद्दा दिएको विषयमा धेरै बोल्नु हुँदैन,” उनले भने, “मलाई विश्वास छ, सर्वोच्च अदालतले न्याय दिन्छ ।”

देउवाले आफू सधैँ पार्टी एकताका पक्षमा रहेको पनि बताए ।

आफ्नो गृहप्रदेश सुदूरपश्चिम र जिल्लाका निम्ति अझै धेरै काम गर्न बाँकी रहेको उनले सुनाए । “डडेलधुराका लागि अझै गर्न बाँकी छ, त्यो पनि पूरा गर्छु,” उनले भने ।

उनले आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको स्पष्ट पारे । प्रेसले आफ्नै आचारसंहिताभित्र रहेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

“प्रेसको सन्दर्भमा उसको आफ्नो आचारसंहिताको विषय हो,” देउवाले भने, “प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्रै गणतन्त्रको रक्षा हुन्छ ।”

गत वर्ष पुसमा कांग्रेसको विशेष महाधिवेशन गरिएको थियो । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापासहितको नेतृत्वमा हाल कांग्रेस छ ।

 

तपाईको प्रतिक्रिया