Online Bichar
शनिबार, साउन ३०, २०८३ | Saturday, August 15, 2026

झापा, २९ साउन २०८३ । अनलाइन सट्टाबाजी र अभौतिक मुद्रा (क्रिप्टो) बाट सम्पत्ति शुद्धिकरणमा गएको झापाको पहिलो मुद्धामा दुई प्रतिवादीको खाताबाट ३५ करोडभन्दा बढीको कारोबार भएको देखिएको छ ।

बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचेको खाताबाट साढे २३ करोड र मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरीको खाताबाट करिव १२ करोडको कारोबार भएको देखिएको हो ।

मेचेको २५ वटा भन्दा बढी खाता भेटिएको छ । दुई वर्षको अवधिमा मेचेको ती खाताबाट १८ हजार ५०७ पटक कारोबार भएको प्रहरी अनुसन्धानले देखाएको छ । मेचेको साथबाट तीन थान सिमसहितका मोबाइल बरामद भएका थिए । मोवाइलमा प्रयोग भएका सिमहरू उनकै नाममा दर्ता रहेको छ । बरामद भएका मोवाइल खोली हेर्दा आइडी नं १३६०८९७ मा ४ लाख ३९ हजार ९९५ रुपैयाँ व्यालेन्स देखिएको थियो । त्यस्तै २ करोड ९४ लाखको ट्रान्जिट लिमिट उनको मोवाइलभित्रको एपबाट देखिएको छ । मुभ क्यास भन्ने एपबाट ५ करोड ९४ लाख६२ हजार १४० रुपैयाँ जम्मा भएको र ६ करोड ६३ लाख २० हजार ५४० रुपैयाँ उनको खाताबाट निकालेको देखिएको छ । मोबाइलमा मेचेकी दिदी कविता मेचे नामको मेल आईडी प्रयोग गरी प्रतिवादीले चलाई युजर आईडीवाट रकम जम्मा गर्ने र निकाल्ने गरेको देखिएको छ ।

६ जनाको बैंक खाता प्रयोग गरी उनले रकम झिक्ने र जम्मा गर्ने गरेको देखिएको अनुसन्धानले देखाएको छ । मिलन लिम्बू, आयुस अधिकारी र समिर लिम्बूको बैंक खाता मेचेले प्रयोग गरेको देखिन आएको हो ।उनले अर्काको बैंक खाता हायर गरेर चलाएको बताइएको छ । प्रहरी अनुसन्धानको प्रतिवेदन अनुसार दुई वर्षको अवधिमा १८ हजार ५०७ पटक मेचेको खातामा कारोबार भएको देखिएको छ ।

मेचे र गिरी शुरुमा अनलाइन सट्टावाजीको एजेन्ट रहेका थिए । पछि उनीहरु मर्चेन्ट बनेका थिए । मेचेले वयानमा अनलाइन जुवा खेल्दा पाँच प्रतिशत र दुई प्रतिशत नाफा वापत रकम प्राप्त हुने गरेको बताएका थिए । उनले अनलाइन जुवा तथा अभौतिक मुद्रा (क्रिप्टो) को प्रयोग र कारोवार गरी घरजग्गामा लगानी गरेको दावी गरिएको छ ।

मेचेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७९ १०(ख) का आधारमा सोही संहिताको दफा ८० बमोजिम पुर्पुक्षका लागि बुधवार झापा कारागार चलान गरिएको छ । थुनछेक बहसपछि झापा जिल्ला अदालतका न्यायाधीश नारायण रिमालको इजलासले सो आदेश दिएको थियो ।

मेचेले Binance application को प्रयोग गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ र प्रचलित नेपाल कानूनद्वारा निषेधित गरिएको Binance, USDT जस्ता अभौतिक मुद्राहरूको – अवैध रूपमा खरिद विक्री, व्यवसायिक कारोवार, सटही र स्थान्तरण गर्न आधुनिक संचार प्रविधि र अभौतिक नेटवर्कको प्रयोग गरी क्रिफ्टोग्राफी माध्यमवाट सिर्जना गरिएका यस्ता अवैध मुद्राहरू आफ्ना डिजिटल वालेटहरूमा संचय तथा कारोवार गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(४) ले निषेधित सोही दफाको उपदफा (५) बमोजिम कसूर साथै दफा २६२क, को (१) र (२) बमोजिमको कसूर गरेको भन्दै उनलाई सोही संहिताको दफा १२५/६० र दफा २६२क. को (३) बमोजिम सजाय हुन र उक्त कसूर गरी अवैध रूपमा अकुत सम्पत्ति आर्जन गरी आफू र आफ्‌ना निकट व्यक्तिहरूको नाममा सम्पत्तिलाई वैध बनाउने उद्देश्यले घरजग्गा लगानी गरी अवैध आर्जित सम्पत्तिलाई व्यक्तिगत र अन्य व्यक्तिहरूवाट खातामा रकमान्तरण तहकीकरण गरी सम्पत्ति उपरको अधिकार लुकाउने, छल्ने, बदल्ने निसर्ग गर्ने, प्राप्त गर्ने, प्रयोग गर्ने र धारण गर्ने समेतको कार्य गरी सम्पत्ति शुद्धीकरण गरेका हुँदा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख), (ग) ले निषेधित कसूरमा विगो रु एक करोड पाँच लाख सड्तीस हजार आठ सय सतासी रुपैयाँ कायम गरिएको थियो ।

उनलाई सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय हुन र उनको खातामा रहेको रु.१ लाख ६६ हजार ४३५ रुपैयाँ , शेयर र मोबाइलहरू समेत सोही ऐनको दफा ३४ तथा कसूरजन्य सम्पत्ति तथा सांधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ वमोजिम जफत गरी पाउँ भनी अभियोग पत्र दायर भएको थियो ।

त्यस्तै विपिन गिरीको मोवाइलमा रहेको १xBet Partners नामक एपहरुमा लगईन भएका आइडीहरु भेटिएको थियो । एउटा आइडीबाट २१ लाख ५३ हजार ४३७ रुपैयाँ Commission Paid Out भएको पाइएको थियो । अर्को आइडीमा १ लाख ३ हजार ४८ रुपैयाँ Commission Paid Out भएको, त्यस्तै अर्को आइडीमा ३५ लाख ७१ हजार ३१३ रुपैयाँ Commission Paid Out भएको तथा विभिन्न १xBet Partners आइडीबाट जम्मा Commission Paid Out ५८ लाख ३५ हजार ६२८ रुपैयाँ आर्जन गरेको देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

अवैध करोबार गरिरहेका दुबै जनाले देखावटी रुपमा आधिकारिक कम्पनी खोली आन्तरिक राजश्व कार्यालय भद्रपुरमा कर तिरिरहेको पाइएको छ ।

विपिन गिरीले अनलाइन जुवा सट्टेबाजी कसूर अपराधमा संलग्न रही अवैध तरिकाले अकूत सम्पत्ति आर्जन गरी आफू तथा आफ्‌ना निकट व्यक्तिहरू बैंक तथा वित्तीय संस्थाका बैंक खाताहरूमा कसूरबाट आर्जित (Illicit Origin) सम्पत्तिलाई वैध बनाउने उद्देश्यले जग्गामा लगानी गरी सो सम्पत्तिहरूमा भएका रकमान्तर, हस्तान्तरण, ट्रान्सफर तथा धारण तथा प्रयोग भएका कारोवार गरी प्रतिवादीले गैरकानूनी स्रोत (Illicit Origin) बाट प्राप्त सम्पत्ति (Proceed of Crime) हो भन्ने थाहा हुँदा हुदै अनलाइन जुवा सट्टेबाजी समेतका कसूर अपराधबाट आर्जित सम्पत्तिलाई उनको व्यक्तिगत तथा अन्य व्यक्तिहरुको खाताहरूमा रकमान्तरण (Placement), तहकीकरण (Layering) गरी बैंक कारोवार  (Movement) गरी जग्गा खरिद गरी स्वामित्व वा सो सम्पत्तिको उपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, निःसर्ग (Disposition) गर्ने, प्राप्त गर्ने, प्रयोग गर्ने र धारण समेतका कार्यहरू गरी सम्पत्ति शुद्धीकरण (Money Laundering) कसूर गरेको स्पष्ट भै उनले सम्पति शुद्धीकरण (मनी लाउण्डरीङ्ग) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) (ख) (ग) ले निषेधित कार्य गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ्ग) निवारण ऐन २०६४ (संशोधन समेत) को दफा २ को खण्ड (श) सँग सम्बन्धित सोहि ऐनको अनुसूचीमा उल्लेखित बुँदा नं. १ को “प“ (चिठ्ठा, जुवा या धन्दा सम्बन्धी कसुर) अनुसारको सम्बद्ध कसुर अनलाईन जुवा सट्टेबाजी सम्बन्धी कसूर गरी गैरकानुनी स्रोत (Illicit Origin) बाट आर्जित रकमहरू व्यवस्थापन गर्नका लागि आफू तथा आफू निकट व्यक्तिहरूको खातामा तहकीकरण गरि जमिन खरिद समेत गरी सम्पत्ति शुद्धीकरण (Money Laundering) गरेको देखिंदा सम्पति शुद्धीकरण (मनी लाउण्डरीङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को (क), (ख), (ग) ले निषेध गरेका कार्यहरू गरी ऐ. को उपदफा (३) को सम्पति शुद्धीकरणको कसुर गरेको हुँदा मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) ले निषेधित उपदफा (५) मा वर्णित सट्टाबाजी खेल खेलाएको कसूरमा ऐ.को दफा १२५ को उपदफा (६) बमोजिम सजाय गरी सम्पति शुद्धीकरण (Money Laundering) को कसुरतर्फ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को (क), (ख), (ग) ले निषेध गरेका कार्यहरू गरी ऐ. को उपदफा (३) को सम्पति शुद्धीकरणको कसुरमा निज उपर रकम निज प्रतिवादीले निरन्तर रूपमा अनलाईन जुवा तथा सट्टेबाजीको कारोबारमा संलग्न रही निजले आर्जित गरेको रु. ९४ लाख १८ हजार ८७४ रुपैयाँ बराबरको विगो कायम गरिएको थियो । बुधवार नै झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेलको इजलासले गिरीलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तीन महिनाअघि गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट नियन्त्रणमा लिइएको थियो । अनलाइन सट्टाबाजी र अभौतिक मुद्रा (क्रिप्टो) बाट सम्पत्ति शुद्धिकरणमा गएको झापाको पहिलो मुद्धा भएपनि इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिश लुइटेलले तीन महिना लगाएर सो घटनाको सफल अनुसन्धान गरेका थिए ।

झापामा अनलाइन जुवा खेलाउनेहरुको संजाल नै रहेको छ । सयौंले अनलाइन जुवा खेल्ने गरेको आशंका गरिएको छ । त्यस किसिमको जुवाबाट धेरैजनाको उठीबास नै भएको छ । अनलाइन जुवामा हारेको वा ठगीमा परेको भनेर कोही पनि नआएको बिर्तामोड प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया