Online Bichar
शुक्रबार, साउन २९, २०८३ | Friday, August 14, 2026

झापा, २८ साउन २०८३ । महिला तथा बालबालिका बेचविखन विरुद्धमा लामो समयदेखि कार्यरत माइती नेपाल काँकडभिट्टाले पूर्वी नाकामा १७६ जनालाई रोकथाम गरेको छ ।

नाकाबाट दलालमार्फत्‌ वा लुकिछिपी भारत जान लागेका त्यति धेरै महिलालाई आर्थिक वर्ष २०८२– ०८३ मा माइती नेपाल काँकडभिट्टाले जोगाएको हो । त्यस्तै भारतबाट ६ जना महिलाहरुको उद्धार गरिएको थियो भने घरेलु हिंसाको ८ वटा मुद्धा दर्ता गरिएको थियो । एक वर्षको अवधिमा माइती नेपाल काँकडभिट्टामा मानिस हराएको भन्दै ४५ वटा निवेदन आएकोमा २१ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको कार्यक्रम सुपरभाइजर प्रवीना थपलियाले बताइन् । अघिल्लो वर्ष सीमा नाकामा १५९ जनालाई रोकथाम गरिएको , भारतबाट ४ जनालाई उद्धार गरिएको , घरेलु हिंसाको ७ वटा मुद्धा आएको , हराएको भन्दै ६९ वटा निवेदन आएकोमा २० जनालाई फेला पारिएको र जबरजस्ती करणीसम्बन्धी दुईवटा मुद्धा आएको माइती नेपाल काँकडभिट्टाले सामाजिक लेखा परीक्षण सम्बन्धी कार्यक्रममा सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

संस्थाले आर्थिक वर्ष २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म एक वर्षको वार्षिक कार्यक्रमको प्रगति विवरण हिजो सामाजिक लेखा परीक्षण कार्यक्रममार्फत सार्वजनिक गरेको हो । संस्थाका कार्यालय प्रमुख गोविन्द घिमिरेको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका नगर उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाका महिला विकास अधिकृत जयन्ती खरेल , सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी यज्ञबहादुर थापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कमल विष्ट ,बाल जागरण मञ्च नेपालका अध्यक्ष मणिकुमार लिम्बू , नवअभियान नेपालका अनिता गुरागाई , काँकडभिट्टा माविका कृष्ण राजवंशी , साहसी महिला नेपालका होमराज राई , आफन्त नेपालका मातृका गुरुङ ,असल मित्र नेपालका राजेश गुरुङ , साना हातहरु नेपालका माण्डु धिमाललगायत सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाकी उपप्रमुख उप्रेतीले माइती नेपाल एउटा ब्राण्डको रूपमा परिचित रहेको बताइन् ।उनले महिला, बालबालिका तथा विकृति विसंगति विरूद्धको क्षेत्रमा काम गरिरहेकोले माइती नेपाल ‘केल्मी’ कपडा जस्तै ब्राण्ड बनिसकेको बताइन् ।कार्यक्रममा सहभागी सामाजिक संघ–संस्था र सरोकारवाला निकायका प्रतिनिधिले माइती नेपालको राम्रो कामको प्रशंसा गरेका थिए । उनीहरुले सीमा नाकामा सबैको समन्वय र सहकार्यमा एक भएर अघि बढ्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा सुपरभाइजर प्रवीना थपलियाले प्रोजेक्टरमार्फत बार्षिक प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

संस्थाले मेचीनगर नगरपालिका, वडा कार्यालय, विभिन्न सामुदायिक र निजी विद्यालय तथा प्रहरी–प्रशासनसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रमहरू गर्दै आएको छ ।

संस्थाले २०८२/०८३ सालको बजेट ११ लाख २९ हजार ४३२ रूपैयाँ खर्च गरेको जानकारी दिएको छ । माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत घिमिरेले अध्यक्षतासहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।कार्यक्रममा माइती नेपाल काँकडभिट्टाकी परामर्शकर्ता हेमन्ता बुढाथोकीले स्वागत गरेकी थिइन् ।

गत वर्ष अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवसमा घरदैलो तथा जनचेतना कार्यक्रम , विद्यार्थीहरुलाई मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका बारेमा कानूनी शिक्षा सम्बन्धी प्रशिक्षण , मानव बेचविखन तथा ओसार पसारविरुद्ध सरोकारवालाहरूसँग अन्तरक्रिया ,सचेतना ऱ्याली तथा अन्तरक्रिया , काँकडभिट्टा बसपार्कमा सवारी साधनमा आवत जावत गर्ने यात्रुहरुलाई सचेत गराउने उद्देश्यले ब्रोसर, पम्पलेट वितरण , दुई देश बिचको अपराध नियन्त्रण सम्बन्धमा वृहत छलफल , छात्राहरुलाई मानसिक स्वास्थ्य तथा महिनावारी स्वच्छताबारे अन्तरक्रियालगायतका कार्यक्रम गरिएको कार्यक्रम सुपरभाइजर थपलियाले जानकारी दिएकी छन् ।

 

तपाईको प्रतिक्रिया