काठमाडौं, २७ साउन २०८३ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग सम्बोधन गर्न प्रसारण लाइन तथा सबस्टेसन निर्माणका रणनीतिक आयोजनाले गति लिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तत्कालीन विद्युत् माग पूरा गर्नेमात्र नभई उद्योग, व्यवसाय र घरेलु उपभोक्ताबाट आगामी दिनमा थपिने मागसमेत धान्ने गरी प्रसारण संरचना विस्तारलाई प्राथमिकता दिएको हो ।
नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माणपछि मधेसमा विद्युत् आपूर्ति गुणस्तर तथा विश्वसनीयता सुधार हुने र औद्योगिक विस्तारका लागि आवश्यक ऊर्जा पूर्वाधार तयार हुने अपेक्षा छ ।
निर्माणाधीन आयोजना समयमै सक्न मन्त्रालयले नियमित अनुगमन, समन्वय र सहजीकरण गरिरहेको जनाएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार मधेसमा विद्युत् माग सम्बोधन गर्ने उद्देश्यले अघि बढाइएका विभिन्न प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणको महत्त्वपूर्ण चरणमा पुगेका छन् ।
दसैंअघि बालगंगा सबस्टेसन सञ्चालन गर्ने लक्ष्य
मधेसमा निर्माणाधीन महत्त्वपूर्ण आयोजनामध्ये ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजना एक हो । करिब २४ किलोमिटर लामो डबल सर्किट १३२ केभी प्रसारण लाइन नो–लोड अवस्थामा सफलतापूर्वक चार्ज भइसकेको छ ।
बालगंगा सबस्टेसनमा भने सिभिल निर्माण तथा उपकरण जडानको काम तीव्र गतिमा भइरहेको छ । मन्त्रालयले दसैंअघि नै आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।
हंसपुर नगरपालिका–९ मा निर्माण भइरहेको सबस्टेसनमा ६३ एमभीए क्षमताको १३२/३३ केभी सबस्टेसन रहने छ । करिब २ अर्ब १३ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना अन्तर्गत ढल्केबर–लोहारपट्टी १३२ केभी लाइनको टावर नम्बर ३० बाट प्रसारण लाइन निकालेर बालगंगा सबस्टेसनमा जोडिने छ ।
सबस्टेसनका पावर ट्रान्सफर्मर सहित अधिकांश प्रमुख उपकरण आयोजना स्थल पुगिसकेका छन् । सिभिल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरण जडानको काम भइरहेको छ । कन्ट्रोल रुम र कर्मचारी आवास भवन निर्माण पनि अन्तिम चरणमा छन् ।
आयोजना सञ्चालनमा आएपछि मुजेलिया, यदुकोहा, धनुषाधाम, वीरेन्द्रबजार, लोहना र नगराइन लगायत क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने अपेक्षा छ । यसले समग्र धनुषाको वितरण प्रणाली समेत थप बलियो बनाउने मन्त्रालयको भनाइ छ ।
सिरहा-सप्तरीमा बढ्दो माग धान्ने तयारी
मधेसको विद्युत् प्रणालीमा ३३ केभी र ११ केभी वितरण लाइनमा बढ्दो भार प्रमुख चुनौतीका रूपमा देखिएको छ । विशेषगरी सिरहा र सप्तरीका ग्रामीण तथा औद्योगिक क्षेत्रमा विद्युत् माग बढ्दै गएपछि विद्यमान वितरण संरचनाले भविष्यको माग धान्न कठिन हुने अवस्था छ ।
यसलाई सम्बोधन गर्न लहान–सुखीपुर १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । लहान सबस्टेसनदेखि सुखीपुरमा प्रस्तावित १३२/३३/११ केभी सबस्टेसनसम्म करिब १७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ ।
सुखीपुर सबस्टेसनमा ६३ एमभीएका दुई र २४ एमभीएको एक ट्रान्स्फर्मर जडान गरिने छ । लहान सबस्टेसनमा पनि दुइटा १३२ केभी लाइन बे थपिनेछन् ।
करिब १ अर्ब ५३ करोड लागत अनुमान गरिएको आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ । सुखीपुर सबस्टेसनको सीमा पर्खाल निर्माण तथा निर्माण अनुमतिपत्र प्राप्त भइसकेको छ ।
प्रसारण लाइनका टावर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीले २४ महिनाभित्र प्रसारण लाइन निर्माण, परीक्षण तथा सञ्चालनमा ल्याउने गरी काम सुरु गरिसकेको प्राधिकरणले जनाएको छ । बाँकी जग्गा अधिग्रहण आगामी भदौसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
सप्तरीमा बोदेबरसाइनसम्म प्रसारण पूर्वाधार
सप्तरीमा विद्युत् माग र औद्योगिक सम्भावना ध्यान दिँदै रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ ।
करिब १८ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरी बोदेबरसाइनमा १३२/३३/११ केभी सबस्टेसन स्थापना गर्ने योजना छ ।
प्रस्तावित सबस्टेसनमा ३० एमभीएका दुई र २४ एमभीएको एक ट्रान्स्फर्मर रहनेछन् । रुपनी सबस्टेसनमा दुइटा १३२ केभी लाइन बे थपिनेछन् ।
आयोजना सम्पन्न भएपछि सप्तरीको मध्य तथा दक्षिण–पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुनुका साथै भविष्यमा थपिने विद्युत् उत्पादन राष्ट्रिय प्रणालीमा जोड्न समेत सहज हुने प्राधिकरणको अपेक्षा छ ।
आयोजनाको अनुमानित लागत करिब १ अर्ब ५६ करोड छ । अध्ययनका काम सम्पन्न भइसकेका छन् भने सबस्टेसनको सीमा पर्खाल निर्माण र निर्माण अनुमतिपत्र प्राप्त भइसकेको छ । लागत अनुमान स्वीकृत भइसकेकाले बोलपत्र सम्बन्धी कागजात तयार गर्ने प्रक्रिया अघि बढाइएको छ ।
रौतहटको मध्य तथा दक्षिणी क्षेत्रमा पनि क्षमता विस्तार
रौतहटमा चन्द्रपुर–सरुअठा १३२ केभी प्रसारण लाइन आयोजना मार्फत मध्य तथा दक्षिणी क्षेत्रको विद्युत् आपूर्ति सुधार गर्ने तयारी छ ।
चन्द्रनिगाहपुरस्थित विद्यमान सबस्टेसनदेखि यमुनामाई गाउँपालिका–४ सरुअठामा प्रस्तावित सबस्टेसनसम्म करिब ३७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ ।
सरुअठामा १३२र३३र११ केभी सबस्टेसन निर्माण गरी ६३ एमभीएका दुइटा १३२र३३ केभी तथा २४ एमभीएका दुइटा ३३र११ केभी ट्रान्स्फर्मर जडान गर्ने योजना छ ।
प्रसारण लाइन निर्माण भएपछि गौर, मनपुर, सिम्रौनगढ र मौलापुर क्षेत्रका वितरण केन्द्रमा विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।
आयोजनाको करिब ७ किलोमिटर प्रसारण लाइन राष्ट्रिय वन क्षेत्र हुँदै जाने भएकाले वन क्षेत्रको स्वीकृति तथा टावरका लागि जग्गा अधिग्रहणको काम भइरहेको छ ।
विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन, सबस्टेसनका लागि जग्गा अधिग्रहण, सीमा पर्खाल र सुरक्षा भवन निर्माण लगायत अधिकांश पूर्वनिर्माणका काम भने सम्पन्न भइसकेका छन् ।
प्रसारण लाइनको चेक सर्भे, टावर प्रोफाइलिङ, पेगिङ, पिट मार्किङ तथा कित्ता नक्सासम्बन्धी काम पनि पूरा भएको छ ।
करिब ९३ करोड ८२ लाख ४० हजार रुपैयाँमा गत जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाको निर्माण अवधि ३० महिना तोकिएको छ । सरुअठा सबस्टेसनका लागि खरिद प्रक्रिया पनि अघि बढिरहेको छ ।
बारा-पर्साको औद्योगिक करिडोरमा उच्च क्षमताको लाइन
औद्योगिक करिडोरका रूपमा विकसित बारा–पर्सामा विद्युत् माग तीव्र बढिरहेका बेला हेटौंडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनालाई पनि प्राथमिकतामा राखिएको छ ।
आयोजना अन्तर्गत परवानीपुरदेखि पोखरियासम्म २१.२१ किलोमिटर लामो १३२ केभी चार सर्किट प्रसारण लाइन निर्माण गरिने छ । पोखरियामा नयाँ १३२/३३/११ केभी सबस्टेसन स्थापना तथा परवानीपुर सबस्टेसनमा बे विस्तार गरिने छ ।
यसअघि पिलुवा (पथलैया)–परवानीपुर १७ किलोमिटर १३२ केभी डबल सर्किट लाइनमा हाई टेम्प्रेचर लो स्याग कन्डक्टर मार्फत पुन: कन्डक्टरिङको काम सम्पन्न भइसकेको छ ।
पोखरिया सबस्टेसनमा कन्ट्रोल रुम, कर्मचारी आवास, स्टोर, गार्ड हाउस तथा उपकरण र ट्रान्स्फर्मर फाउन्डेसन निर्माण भइरहेका छन् । चार सर्किट टावर डिजाइन स्वीकृत भइसकेको छ भने संशोधित प्रारम्भिक वातावरणीय परीक्षण पनि स्वीकृत भइसकेको छ ।
बोलपत्र प्रक्रिया सम्पन्न गरी चिनियाँ कम्पनीसँग निर्माण सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ । आयोजना सन् २०२७ सेप्टेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ ।






