Online Bichar
मंगलबार, साउन २६, २०८३ | Tuesday, August 11, 2026

काठमाडौं, २६ साउन २०८३ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी महाधिवेशन लगायत पार्टीका सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न पार्टी सभापति गगन कुमार थापालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाले केन्द्रीय समितिलाई पत्र लेख्दै सर्वोच्च अदालतबाट निस्सा पुनरावलोकनको अनुमति जारी भएकाले आगामी महाधिवेशन लगायत पार्टीका सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न आग्रह गरेका हुन् ।

पत्रमा भनिएको छ, “प्रस्तुत विषयमा नेपाली कांग्रेसको वैधानिकता र सम्बन्धमा यसअघि सम्मानित सर्वोच्चता भएको फैसला उपर पार्टी सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुरको तर्फबाट दर्ता भएको पुनरावेदनमाथि सुनुवाइ हुँदै सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट मिति २०७३ साउन २२ गते उक्त मुरा दोहोर्‍याई अनुमति अर्थात् ‘निस्सा’ प्रदान भएको ब्यहोरा सर्वविदितै छ ।अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म साबिक संरचना र नेतृत्वको वैधानिकतामाथि कानुनी रूपमै प्रश्नचिह्न खडा भएको स्पष्ट देखिन्छ ।”

गम्भीर कानुनी र नीतिगत संक्रमणकालीन अवस्थामा पार्टीभित्र थप जटिलता र कानुनी संकट उत्पन्न नहोस् भन्नका लागि पत्र पठाइएको उल्लेख छ । अदालतको फैसला नआउँदासम्म विशेष महाधिवेशन सम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्कालका लागि स्थगित गर्न उक्त पक्षले माग अघि सारेको छ ।

यस्तै दूरगामी निर्णयहरू नगर्न अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्ण रूपमा यथास्थितिमा राख्न भनिएको छ । अदालतको गरिमा र कानुनी प्रक्रियालाई पूर्ण रूपमा सहयोग र सम्मान गर्न पनि संस्थापनइतर पक्षले आग्रह गरेको छ ।

अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अगाडि नबढाउन चेतावनीसहित इतर पक्षले संस्थापन पक्षको ध्यानाकर्षण गराएको हो । पत्रमा भनिएको छ, “अन्यथा, अदालतको अवहेलना वा कानुनी प्रतिकूलता सिर्जना भएमा त्यसको जिम्मेवार सम्बद्ध पक्ष नै हुने ब्यहोरा समेत अवगत गराइन्छ ।”

तपाईको प्रतिक्रिया