काठमाडौँ, ३१ असार २०८३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुरले विभिन्न भारतीय विश्वविद्यालयहरूबाट प्राप्त उपाधिहरूको समकक्षता प्रमाणपत्र रद्द गरेको छ।
केन्द्रले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै भारतको मेघालयस्थित सिएमजे युनिभर्सिटी, टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको सङ्गाई इन्टरनेसनल युनिभर्सिटी र झारखण्डको प्रज्ञान इन्टरनेसनल युनिभर्सिटीबाट विभिन्न व्यक्तिहरूले हासिल गरेका शैक्षिक उपाधिहरूको समकक्षता रद्द गरिएको जनाएको हो।
छानबिन समितिको रायबमोजिम यसअघि गोरखापत्र दैनिकमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दा पनि तोकिएको म्यादभित्र आवश्यक कागजात तथा आधार पेश हुन नसकेकाले ‘त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२’ को विनियम २१ बमोजिम ती समकक्षता प्रमाणपत्रहरू रद्द गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ।
सार्वजनिक गरिएको विवरण अनुसार समकक्षता रद्द हुनेहरूमा मुख्यतया सिएमजे युनिभर्सिटी, जोराबाटबाट वाणिज्य, कला, सिभिल इन्जिनियरिङ, फिजियोथेरापी, कानुन, र कम्प्युटर एप्लिकेसनमा स्नातक तह तथा क्लिनिकल बायोकेमेस्ट्री, म्यानेजमेन्ट, क्लिनिकल माइक्रोबायोलोजी र पोलिटिकल साइन्स जस्ता विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका ११ जना व्यक्तिहरू रहेका छन्।
समकक्षता रद्द गरिएका व्यक्तिहरूमा सपना पाण्डे, सविता अधिकारी, बब्लु कुमार झा, संगम कुमार झा, हरि केश वर्मा, देवेन्द्र देसार, ललित नारायण यादव, दिनदयाल चौधरी, सरोज कुमार ठाकुर, सुदीप गौतम र शिवेन्द्र लाभ कर्ण रहेका छन्। छानबिन समितिले ती विश्वविद्यालयहरूबाट जारी गरिएका कागजातहरू समकक्षता कायम राख्न अयोग्य ठहर गरेसँगै त्रिविले यो कदम चालेको हो।






