Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

काठमाडौं, ३१ असार २०८३ । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका काम कारबाहीमाथि रोक लगाएको छ । यसअघि आयोगले सर्वोच्चबाट जारी भएको अन्तरिम आदेशपछि पूर्वन्यायाधीश, सेना र अख्तियारको छानबिनभित्र नपर्नेबाहेक अरूको हकमा सम्पत्ति छानबिन जारी राख्ने सूचना प्रकाशित गरेको थियो ।

आयोगले तत्काल सबैको सम्पत्ति जाँचबुझ रोक्नुपर्ने माग राखेर पूर्व न्यायाधीश फोरम नेपालको अध्यक्ष एवं सर्वोच्च अदालतबाट सेवानिवृत्त न्यायाधीश टोपबहादुर सिंह ठकुरी र लिगल इनोभेसन एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मणिराम उपाध्यायले भिन्नाभिन्नै रुपमा रिट दायर गरेका थिए ।

रिटमामाथि मंगलबार (असार ३०) सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्कालका लागि सबै काम कारबाही रोक्न आयोगका नाममा अन्तरिम आदेश दिएको हो । आदेशको पूर्ण पाठ आउन बाँकी रहे पनि आयोगले सर्वोच्चको पूर्ण इजलासबाट अर्को आदेश नआएसम्म कसैको पनि सम्पत्ति छानबिन र विवरण माग गर्न नपाउने आदेश गरेको फोरमका सचिवसमेत रहेका पूर्वन्यायाधीश युवराज सुवेदीले जानकारी दिए ।

पूर्वन्यायाधीश फोरमका तर्फबाट सबैको हकमा सम्पत्ति छानबिन रोक्न फोरमका तर्फबाट रिट दायर भएको र माग बमोजिम तत्कालका लागि सबैको हकमा छानबिन रोक्न सर्वोच्चबाट अन्तरिम आदेश आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया