Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

झापा, २१ असार २०८३ । गत चैत र बैशाख महिनामा देखा परेको बर्डफ्‌लु रोगका कारण झापामा करिव २ करोड ९२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यसको ७५ प्रतिशत किसानले क्षतिपूर्ति पाउने भएका छन् ।

झापाको चारवटा फार्ममा बर्डफ्‌लु देखा परेको थियो । दमक-१० मा देवेन्द्र प्रसाईको दमक एग्रिकल्चर फार्म , दमक-१० कै मनिश बलमपाकी मगरको दमक कृषि फार्म , कमल-५ का उज्वल भण्डारीको फार्म र गौरादह-६ का मनोज सिटौलाको रेमन कृषि फार्ममा बर्डफ्‌लु फैलिएको थियो । ती फार्महरुमा २० हजार ९० वटा कुखुरा , ९७ हजार ४५० अन्डा र १० हजार ४६५ केजी दाना नष्ट गरिएको थियो ।

नष्ट गरिएका पन्छी , पन्छीजन्य पदार्थ र उत्पादन सामग्रीको विवरण क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पशु सेवा विभाग हरिहर भवन ललितपुर पठाइएको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले बताइन् । उनले प्रभावित कृषकहरुलाई प्रचलित मापदण्ड बमोजिम राहत उपलव्ध गराइदिनका लागि प्रमाणित विवरण पठाइएको बताउँदै केही दिनभित्रै पीडित किसानहरुले राहत पाउने जानकारी दिएकी छन् । अर्थ मन्त्रालयले बर्डफ्‌लुबाट प्रभावित किसानका लागि क्षतिपूर्ति दिन ५० करोड रुपैयाँ निकासा गरेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया