काठमाडौं, २१ असार २०८३ । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका छन् । उत्खननका क्रममा एउटा पूर्ण प्राचीन सहर र अर्को स्थानमा सामूहिक चिहानहरू फेला परेका हुन् । यी नयाँ खोजहरूले देशको पर्यटन क्षेत्रलाई थप प्रवर्द्धन गर्नेमा इजिप्ट सरकार आशावादी देखिएको छ ।
इजिप्टको पश्चिमी मरुभूमि क्षेत्रमा बाइजेन्टाइन युगको एउटा सहर निकै सुरक्षित अवस्थामा फेला परेको छ, जसलाई अहिलेसम्मकै महत्त्वपूर्ण पुरातात्विक खोजहरूमध्ये एक मानिएको छ । इजिप्टको अलेक्जेन्ड्रिया सहरनजिकैको दाखला ओएसिस र मरिना एल–अलामीनका पुरातात्विक स्थलमा हालै गरिएका यी दुवै खोजलाई निकै महत्त्वपूर्ण मानिएको छ ।
त्यहाँको पर्यटन तथा पुरावशेष मन्त्रालयका अनुसार, पहिलो खोजले चौथो शताब्दीमा दाखला ओएसीसको दैनिक जीवन, सहरी विकास र आर्थिक गतिविधिबारे विस्तृत जानकारी उजागर गरेको छ । त्यतिबेला इजिप्ट बाइजेन्टाइन साम्राज्यको हिस्सा थियो ।
बाइजेन्टाइन युगको सहरमा के–के भेटिए ?
इजिप्टको पुरातात्विक मिसनका अध्यक्ष महमुद मसुदका अनुसार, बाइजेन्टाइन युगको यो सहर चौथो शताब्दीको मध्यतिरको एउटा ‘बेसिलिका चर्च’ रहेको बस्तीको माथिल्लो भागमा अवस्थित छ, जहाँबाट सहरका मुख्य सडकहरू स्पष्ट देखिन्छन् । यसका साथै, सहरको बाहिरी क्षेत्रको सुरक्षाका लागि बनाइएका दुईवटा ‘वाच टावर’का अवशेष पनि फेला परेका छन् ।
सुरक्षाका दृष्टिले बाक्लो पर्खालले घेरिएको एउटा बलियो किल्ला तथा बैठक कोठा र गुम्बज आकारका छाना भएका कयौँ घरहरू पनि यहाँ फेला परेका छन् ।
मन्त्रालयको विज्ञप्तिअनुसार पुरातत्वविद्हरूले रोटी पकाउने भट्टी, भान्साघर तथा खाना पकाउन प्रयोग गरिने ढुंगाका पिस्ने सिलौटो जस्ता औजार समेत फेला पारेका छन् । यसबाहेक बाइजेन्टाइन सम्राटहरूको चित्र अंकित, ल्याटिन भाषाका शिलालेख तथा इसाई प्रतीक भएका निकै सुरक्षित अवस्थाका काँसका सिक्का भेटिएका छन् । साथै, रोमन सम्राट कन्स्टेन्टियस द्वितीयको शासनकालका सुनका सिक्का पनि फेला परेका छन् ।
इस्लामिक, कप्टिक तथा यहूदी पुरावशेष विभागका प्रमुख दीया जहरानका अनुसार, उनीहरूले माटाका भाँडाका करिब २०० वटा टुक्राको संग्रह प्राप्त गरेका छन्, जसलाई त्यस समयमा लेखन सामग्रीका रूपमा प्रयोग गरिन्थ्यो । जहरानले यी टुक्रालाई ‘अस्ट्राका’ भनिने जानकारी दिँदै तिनमा आर्थिक कारोबार, पत्राचार तथा दैनिक जीवनसँग सम्बन्धित विवरण कुँदिएको बताए ।
चिहानसँगै भेटियो ‘सुनौलो जिब्रो’
यसका साथै पुरातत्वविद्हरूले मरिना एल–अलामीन पुरातात्विक स्थलमा १८ वटा प्राचीन चिहान फेला पारेका छन् । मन्त्रालयका अनुसार, तीमध्ये आठ मिटर गहिराइसम्म चट्टान काटेर बनाइएका ११ वटा चिहान र जमिनको सतहमाथि चुनढुंगाबाट निर्मित सातवटा चिहान रहेका छन् । यससँगै यस क्षेत्रमा फेला परेका कुल चिहानको संख्या ४८ पुगेको छ ।
यस स्थलमा पुरातत्वविद्हरूले माटाका भाँडा, एक प्रकारको सुराही, बत्ती, प्लेट, पूजा गर्ने स्थान तथा चुनढुंगाका बेसिन पनि फेला पारेका छन् ।
मिसनकी प्रमुख इमान अब्देल खालिकले २।५ मिटर लामो ग्रेनाइट ढुंगाको एउटा शवपेटिका फेला परेको र त्यसभित्र मानव कंकालका अवशेष रहेको जानकारी दिइन्, जसको हाल अध्ययन भइरहेको छ । उनले शवपेटिका नजिकै प्लास्टरबाट बनेको ‘स्फिंक्स’को मूर्तिको अवशेष पनि फेला परेको बताइन् ।
खालिकका अनुसार, केही मृतकहरूको मुखभित्र राखिएका सुनका चारवटा टुक्रा पनि फेला परेका छन्, जसलाई ‘सुनौलो जिब्रो’ भनिन्छ । यो त्यस समयको अन्त्येष्टि संस्कार तथा धार्मिक विश्वाससँग जोडिएको परम्परा थियो ।
मरिना एल–अलामीन इजिप्टको उत्तरी तटमा रहेको अलामीन सहरनजिकैको एउटा पुरातात्विक स्थल हो । सन् १९८६ मा पत्ता लागेको यस स्थलका बारेमा पुरातत्वविद्हरूको विश्वास छ कि यो भूमध्यसागर किनारमा अवस्थित प्राचीन ग्रीको–रोमन बन्दरगाह सहर ’ल्यूकास्पिस’ थियो । यो सहर दोस्रो शताब्दीमा निर्माण भएको र चौथो शताब्दीसम्म समृद्ध रहेको मानिन्छ ।
नयाँ खोजबाट पर्यटन बढ्ने इजिप्टको आशा
इजिप्ट सरकारले यो नयाँ खोजले देशको महत्त्वपूर्ण पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने आशा राखेको छ । इजिप्टको पर्यटन उद्योग मुख्यतः त्यहाँको प्राचीन इतिहास र सांस्कृतिक सम्पदामा आधारित छ । स्वेज नहरसँगै पर्यटन पनि इजिप्टका लागि विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत हो । यसका साथै यो खोज भएको क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश हुनबाट केवल एक कदम टाढा रहेको छ ।
सन् २०११ को विद्रोह र कोरोना महामारीपछि वर्षौंसम्म राजनीतिक अस्थिरता र हिंसाको सामना गरेको इजिप्टको पर्यटन क्षेत्र अहिले विस्तारै पुरानै लयमा फर्किन थालेको छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष एक करोड ९० लाख पर्यटकले इजिप्ट भ्रमण गरेका थिए, जुन सन् २०२४ को तुलनामा २१ प्रतिशत बढी हो । त्यस्तै, सन् २०२६ का पहिलो चार महिनामा मात्रै ६१ लाख पर्यटक इजिप्ट पुगिसकेका छन्, जबकि सन् २०२५ को सोही अवधिमा यो संख्या ५७ लाख थियो ।






