Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

इनरुवा, २१ असार २०८३ । गृहमन्त्री सुदन गुरुङले सुनसरीका विभिन्न स्थानमा सरकारी निकायको कामकारबाहीबारे अनुगमन तथा निरीक्षण गर्नुभएको छ । इटहरी उपमहानगरपालिका पुग्नुभएका गृहमन्त्री गुरुङले सीमामा तस्करी नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा र अमनचयन चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।

विभिन्न क्षेत्रको अनुगमनका क्रममा उहाँले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई सरकारले प्रवाह गर्ने सेवाप्रति नागरिक सन्तुष्ट हुने गरी काम गर्न निर्देशन दिनुभयो । सुनसरीका सुरक्षा अधिकारीले गृहमन्त्री गुरुङलाई जिल्लाको शान्ति सुरक्षाको अवस्था र सेवा प्रवाहबारे जानकारी गराउनुभएको थियो ।

अनुगमनका क्रममा स्थानीय किसानले मुख्य सिजनमै रासायनिक मलको अभाव झेलिरहेको र उपलब्ध मल पनि जनप्रतिनिधिले आफ्ना नजिकका व्यक्तिलाई मात्रै बाँडेर कालोबजारी गरेको गुनासो सुनाएका थिए । किसानको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले यो विगतदेखिकै समस्या भएकाले विस्तारै समाधान गर्दै जाने बताउनुभयो । इटहरी भ्रमणका क्रममा उहाँले सडक किनारको होटलमा खाना खानुभएको विषयले चर्चा पाएको थियो ।

त्यसैगरी, धरान उपमहानगरपालिका पुग्नुभएका गृहमन्त्रीले त्यहाँको शान्ति सुरक्षा र जनताका समस्याबारे जानकारी लिनुभयो । धरानकी गोमा तामाङले गृहमन्त्रीसमक्ष महिला हिंसा र बलात्कारका घटनाका पीडितलाई न्याय तथा पीडकलाई कारबाही गर्न माग गर्दै कडा कानुन बनाउन सुझाव दिनुभयो । धरानका अभिभावकहरूले निजी विद्यालयको चर्को शुल्क र स्थानीय तहले शिक्षा ऐन जारी नगरेको विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् । सरोकारवालाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास, संरक्षण र स्तरोन्नतिका लागि समेत गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

गृहमन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, सुरक्षा र नागरिकको हितमा काम गर्न आफू आएकाले सबै काम क्रमशः गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले जिल्लाको शान्ति सुरक्षा, प्रगति र लागूऔषध विरुद्धको अभियानमा पाएको सफलताका बारेमा गृहमन्त्रीलाई व्रिफिङ गर्नुभएको थियो । गृहमन्त्री गुरुङले नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिनुभएको छ ।गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया