रुकुम पश्चिम, २१ असार २०८३ । डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका बाढीले बगाउँदा स्थानीय ५६ वर्षीया आनन्दी बिकको मृत्यु भएको हो । उहाँका अनुसार निरन्तरको वर्षासँगै धुलाखोलामा आएको हिलोमाटोसहितको बाढी बिहान करिब ३ बजे गाउँमा पसेको थियो ।
बाढीले करिब ८ वटा घरमा पस्नगई क्षति गरेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी माझगाउबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घरमा पुरिएको अवस्थामा आनन्दी विकलाई फेला पारेर उद्धार गरेको थियो ।
उहाँलाई उपचारको लागि स्वास्थ्य चौकी काईगाउँतर्फ लैजाने क्रममा मृत्यु भएको डिएसपी गिरीले जनाउनुभयो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको छ ।
प्रहरीका अनुसार उक्त बाढीमा परी अन्य ६ जना घाइते हुनुभएको छ । घाइते हुनेमा सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीय निरुता विक, १३ वर्षीय सीता विक र ६५ वर्षीय जस विक रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये पाँचजनालाई डिस्चार्ज गरिएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । उहाँलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरिएको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको प्रहरीले जनाएको छ । गम्भिर अवस्थाका घाइतेलाई हेलिकप्टरमा मार्फत उद्धार गरेर लैजाने वा नजिक रहेको जुम्लातर्फको अस्पताल लैजाने भनेर समन्वय भइरहेको छ ।






