Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

झापा, १५ असार २०८३ । आज राष्ट्रिय धान दिवस । झापामा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेपछि हरेक वर्ष मनाइँदै आएको छ । यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ ।

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । आधा असार सकिन लाग्दा धान रोपाइँ भने न्यून भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार हिजोसम्म जिल्लाभर मात्र ७ प्रतिशत रोपाइँ भएको छ । देशभर भने ११.३३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो अवधिमा १५.६ प्रतिशत धान रोपाइँ भएको थियो ।

धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्रको आयोजनामा मेचीनगर १३ शान्ति टोलमा रोपाइँ कार्यक्रम राखिएको छ । त्यहाँ १० कठ्ठा जमिनमा रोपाइँ गरिने कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । त्यस्तै वीरता जेसीजले बिर्तामोड ९ मा सामूहिक रोपाइँ र दही चिउरा खाने कार्यक्रम राखेको छ । त्यस्तै श्रम संस्कृति पार्टीले हल्दिवारीमा सामूहिक रोपाइँ कार्यक्रम राखेको छ ।

 

तपाईको प्रतिक्रिया