Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

बुटवल, १३ असार २०८३ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चाप व्यवस्थित गर्न र गम्भीर प्रकृतिका बिरामीलाई तत्काल उपचार सेवा उपलब्ध गराउन ‘ट्रयाज प्रणाली’ लागु गरिएको छ । अस्पतालमा दैनिक आउने सेवाग्राहीको संख्या अत्यधिक बढेपछि आकस्मिक कक्षमा यो वैज्ञानिक पद्धति सुरु गरिएको हो ।

हाल यहाँ दैनिक दुई हजारदेखि २५ सयसम्म सेवाग्राही उपचार तथा परामर्शका निम्ति आउने गरेका लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. विष्णुप्रसाद गौतमले बताए । यसलाई पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा लिइन्छ ।

सीमित साधनस्रोत र जनशक्तिबीच यति ठूलो संख्यामा आउने बिरामीमध्ये कसलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने भन्ने चुनौतीलाई चिर्न ट्रयाज प्रणालीलाई प्रभावकारी रूपमा अघि बढाइएको डा. गौतमले जानकारी दिए ।

सरकारको स्वास्थ्य बिमा नीतिमा गरेको परिवर्तनले गर्दा पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको चाप थप बढेको छ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई निजी संस्थामा बन्द गरेको छ । योसँगै बिमा सुविधा लिइरहेका सर्वसाधारण उपचारका निम्ति सरकारी अस्पतालमै निर्भर हुन पुगेका छन् ।

मेडिकल सुपेरिटेन्डेन डा. गौतमका अनुसार, यो प्रणालीअन्तर्गत अस्पताल पुग्नेबित्तिकै सुरुमा बिरामी पहिले आएको आधारमा नभई स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने वैज्ञानिक तवरले जाँचिन्छ । अत्यधिक गम्भीर बिरामीलाई रेड जोन (रातो कोड) मा राखेर तत्काल आकस्मिक कक्षमा उपचार गरिन्छ ।

यस्तै, मध्यम र गम्भीर अवस्थाका बिरामीलाई एलो जोन (सुन्तला वा पहेँलो कोड) मा राखिन्छ । सामान्य ज्वरो, हल्का चोटपटक लागेका बिरामी जसलाई केही समय पर्खाउँदा पनि ज्यानको जोखिम हुँदैन, उनीहरूलाई ग्रीन जोन (हरियो कोड) मा वर्गीकरण गरिन्छ ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा थप प्रभावकारी र गुनासोरहित बनाउन प्राप्त जनशक्ति र साधनस्रोधनको अधिकताम प्रयोग गरी आवश्यक सबै उपाय अपनाइएको बताए ।

तपाईको प्रतिक्रिया