Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

विराटनगर, ११ असार २०८३ । झुटो विवरण पेस गरी अंगीकृत नेपाली नागरिकताको सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन् ।

प्रहरीले रंगेली नगरपालिका–५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र रोहवरमा बस्ने वडासदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले जनाएअनुसार रंगेली नगरपालिका–५ निवासी मनुवाकुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएको भनी झुटो विवरण पेस गरेको आरोप छ । सोही विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन तथा सिफारिस प्रक्रिया अघि बढाइएका वडाध्यक्ष र सदस्य पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी)  मकेन्द्रकुमार मिश्रद्वारा जारी विज्ञप्तिमा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।

 

तपाईको प्रतिक्रिया