Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

झापा, ११ असार २०८३ । झापा प्रहरीले स्वीप अपरेशन गरी एकैदिन ३६ जना लागूऔषध सेवनकर्ता र कारोवारी पक्राउ गरेको छ ।हिजो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट स्वीप अपरेशन गरिएको थियो । त्यसक्रममा प्रहरी टोलीहरुले विभिन्न स्थानहरूमा शंकास्पद अवस्थामा हिडडुल गर्ने लागूऔषध सेवनकर्ताहरु २९ जनालाई पक्राउ गरेका थिए ।

त्यस्तै प्लाष्टिकबाहेक १० ग्राम ११८ मिलिग्राम ब्राउन सुगरसहित ७ जना कारोबारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिए । उनले कारोबारीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र लागूऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने कार्य समेत भइरहेको बताए ।

पक्राउ पर्ने कारोबारीहरु निम्न छन् ।
अर्जुनधारा नगरपालिका वडा नं. ५बस्ने टेम्पो चालक ५० वर्षीय भरत मोहराको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर फेला परेको छ । मोहरालाई नियन्त्रणमा लिई उनले चलाएको प्र–१–०१–००२ ह ७८५६ नं। को टेम्पोसहित नगद १३ हजार २६० रुपैयाँ बरामद गरिएको छ ।

त्यस्तै कमल गाउँपालिका वडा नं. ७ बस्ने २७ वर्षीय सनम धिमाल र कमल-६ बस्ने २० वर्षीय प्रदिप दासको साथबाट प्लाष्टिकबाहेक ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर फेला परेको छ । लागूऔषधसहित नियन्त्रणमा लिई उनीहरुले चलाएको प्र–१–०१–०१२ प ६३७९ नं। को मोटरसाइकलसमेत बरामद गरिएको डीएसपी अवाले बताए ।

त्यस्तै हल्दीबारी गाउँपालिका वडा नं. ३ बस्ने प्रितम तामाङको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ३१ मिलिग्राम ,बिर्तामोड नगरपालिका वडा नं. ३ बस्ने २० वर्षीय सुनिल पासवान र सोही ठाउँ बस्ने २१ वर्षीय उदय पासवानको साथबाट प्लाष्टिकबाहेक ७९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

त्यस्तै इलाम सूर्योदय नगरपालिका वडा नं. ११ बस्ने ४५ वर्षीय रनधिर प्रधानको साथबाट प्लाष्टिकबाहेक १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी अवाले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया