Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, ९ असार २०८३ । सरकारले आउँदो वर्ष तीन देशमा नेपाली दूतावासका निम्ति भवन बनाउने भएको छ । परराष्ट्र मन्त्रालयको मागअनुसार बजेटमा रकम छुट्टिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, अष्ट्रेलियाको क्यानबेरा, साउदी अरेबियाको रियाद र थाइल्यान्डको बैंककमा आर्थिक वर्ष सुरु भएलगत्तै भवन बन्ने क्रम सुरु हुनेछ ।

नेपालको विदेशस्थित ३१ दूतावास, ३ स्थायी नियोग र १० महावाणिज्य दूतावास गरी कुल ४४ नियोग छन् । तीमध्ये ९ दूतावास कार्यालय र ११ राजदूत निवासमात्र आफ्नो स्वामित्वमा वा लिजमा भवन छन् । बाँकी भाडामा चलेका छन् ।

सरकारले दूतावास र राजदूतको आवास बनाउन पाकिस्तानको इस्लामावाद, साउदी अरेबियाको रियाद, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर, ओमानको मस्कट, चीनको बेइजिङ, अष्ट्रेलियाको क्यानबेरामा जग्गा खरिद गरिसकेको छ ।

कतिपय ठाउँमा त जग्गा खरिद गरेको वर्षौं बित्दा पनि दूतावास तथा राजदूत निवास बनाउन सकेको थिएन । यसपालि सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा तोकेरै तीन ठाउँमा दूतावास भवन निर्माण गर्न बजेट छुट्टयाएको छ ।

अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा २०८३/८४ मा विदेशस्थित नेपाली नियोगहरूको लागि पुँजीगत बजेट ९७ करोड ६९ लाख रुपैयाँ उल्लेख छ । त्यसमध्ये भवन निर्माण गर्न ८५ करोड ८२ लाख रुपैयाँ छुट्टयाएको छ ।

नियोगका नाममा खरिद जग्गामा भवन नबनाएपछि संसद्को सार्वजनिक लेखा समितिले २०७७ मंसिर १४ गते निर्देशन दिएको थियो । समितले जग्गा खरिद भएका ठाउँमा भवन बनाउँदै नियोगका घरभाडा खर्च कटौती गर्न निर्देशन दिएको थियो ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीन वर्षमा सक्नुपर्ने थियो, तर, आठ वर्ष बित्दा पनि काम सुरु भएको छैन ।

सम्झौताअनुसार, दूतावास र आवश्यक अन्य भवन नबन्दा ९९ वर्षका लागि गरिएको लिज सम्झौता रद्द हुने खतरा बढेको थियो । अघिल्ला सरकारले आवश्यक बजेट विनियोजन नगर्दा समस्या सिर्जना भएका हुन् ।

दूतावास र अन्य आवश्यक भवन नबन्दा नेपाली दूतावास भाडाकै घरमा छन् । राजदूत र अन्य कूटनीतिक कर्मचारी पनि भाडाकै घरमा बस्न बाध्य छन् ।

२०७४ सालमा क्यानबेरामा जग्गा लिजमा खरिद भएको थियो । त्यस निम्ति ६ हजार १९८ वर्गमिटर जग्गा ९९ वर्षका लागि लिजमा लिने सम्झौता २०७४ चैत ७ गते भएको थियो ।

त्यतिबेला उक्त जग्गा १२ लाख अष्ट्रेलियन डलरमा खरिद भएको थियो । खरिद सम्झौताको बुँदा ३ (ए) मा उक्त जग्गामा १८ महिनाभित्र भवनको काम सुरु गरी ३६ महिनाभित्र सक्नुपर्ने उल्लेख छ । अर्थात् सम्झौताअनुसार नेपालले २०७६ चैत ७ गतेभित्र सुरु गरी २०७७ चैत ७ गतेभित्र सक्नुपर्ने थियो । तर, कुनै काम अघि छैन ।

यहाँसम्म कि भवनको ड्रइङ–डिजाइनसमेत अघि बढाइएन । नेपाली दूतावास म्याद थपमै सीमित रह्यो ।

अष्ट्रेलियन क्यापिटल अथोरिटीले २०७९ वैशाख २२ गतेसम्म भवनको काम सुरु गर्न स्वीकृति दिएको थियो । तर, उक्त समयभित्र पनि काम सुरु गरिएन । त्यसपछि फेरि म्याद थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको म्यादअनुसार २०८३ वैशाख २२ गतेभित्र काम सुरु गर्नुपर्ने थियो । तर, फेरि म्याद थपिएको थियो ।

साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले २०७८ कात्तिकमा १ करोड ६४ लाख ८८ हजार साउदी रियाल ९करिब साढे ६० करोड रुपैयाँ० मा ३ हजार ६६४ वर्गमिटर जग्गा खरिद गर्‍यो, दूतावास र कूटनीतिक कर्मचारीका निम्ति भवनका निम्ति ।

खरिद सम्झौतामा ५ वर्षभित्रै भवन बनाइसक्नुपर्ने थियो । बल्लबल्ल सरकारले यसपालि बजेट राखेको छ ।

नेपालले २०७३ असारमा थाइल्यान्डको बैंककमा तीन घरसहितको पौने ४ रोपनी जग्गा खरिद गरेको थियो । ती भवनसहितको जग्गा नेपालले १५ करोड थाई भाट (४५ करोड ७४ लाख रुपैयाँ) मा खरिद गरेको थियो । उक्त जग्गामा सरकारले आउँदो वर्ष भवन निर्माण गर्न खोजेको हो ।बाह्रखरीबाट

 

तपाईको प्रतिक्रिया