Online Bichar
मंगलबार, आषाढ ०९, २०८३ | Tuesday, June 23, 2026

काठमाडौं, ८ असार २०८३ । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । मानव अधिकार उल्लंघनको आरोपमा उजुरी दर्ता गरिएको हो ।

सोमबार  गुरुङविरुद्ध संयुक्त रूपमा उजुरी दर्ता गराइएको छ । हिरासत कक्षभित्र मानसिक दबाब, ज्यान मार्ने धम्की एवं गम्भीर मानव अधिकार हनन गरिएको भन्दै यथाशीघ्र स्थलगत अनुगमन तथा छानबिनको माग राखेर अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोग केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् । घटनाको सत्यतथ्य जाँचबुझ गर्न उजुरीमा माग गरिएको छ ।

गएको जेठ १९ गते गुरुङको टोली सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा पुगेर आफूहरूलाई यस्तो धम्की दिएको उजुरीकर्ताको जिकिर छ । उनीहरूले परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र डिउटी रजिस्टर नियन्त्रणमा लिएर छानबिन अगाडि बढाउन आयोगसँग माग गरेका छन् ।

गुरुङ तथा उनीसँगै हिरासतमा पुगेको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन पनि उजुरीकर्ताले माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया