Online Bichar
शुक्रबार, आषाढ ०५, २०८३ | Friday, June 19, 2026

विराटनगर, ३१ जेठ २०८३ । भारतमा पछिल्लो समय चर्चामा रहेको कोचिङ सेन्टर गोली काण्डका मुख्य आरोपित मध्येका एक जना गएराति विराटनगरमा मृत भेटिएका छन् ।

गत २ जुनमा ‘खान सर’ नामले परिचित फैजल खानले बिहारको राजधानी पटनामा सञ्चालन गरेको खान ग्लोबल स्टडीजमा गोली चलेको थियो । सो घटनाका आरोपित मध्येका एक २४ वर्षीय भारतीय युवक प्रिन्स यादव विराटनगरमा मृत भेटिएका छन् । उनको एउटा आँखामा चोट छ । उनी मृत भेटिएपछि प्रहरीले उनीसँगै रहेका चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

मोरङ प्रहरी स्रोतका अनुसार प्रिन्स यादव (प्रिन्स आनन्द) पटनामा रहेको ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका कान्छा भाइ हुन् । दाजुभाइविरुद्ध खान सर एकेडेमीका सञ्चालक फैजल खानले जाहेरी दिएका थिए । प्रहरीको खोजीमा परेपछि प्रिन्स भागेर विराटनगर आएका थिए ।

केही दिनदेखि विराटनगर–१० स्थित शुभ होटलमा बस्दै आएका उनलाई अचेत भएपछि शनिबार राति १०ः५५ मा उनकै साथीले न्युरो अस्पताल पुर्‍याएका थिए । न्यूरो अस्पताल प्रशासनका अनुसार अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

मृतकको पृष्ठभूमि विवादसँग जोडिएका कारण उनको मृत्युले शंका उत्पन्न गराएको छ। प्रहरीका अनुसार मृतकको आँखाको डिलमा सामान्य चोट बाहेक अन्य कुनै चोटपटक देखिएको थियो । घटना शंकास्पद देखिएपछि प्रहरीले उनीसँगै रहेका बिहारको सहरसाका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो ।

मोरङ प्रहरी प्रमुख कबित कटवालका अनुसार यादव जेठ २० गते साथीहरूसँग विराटनगर आएको देखिन्छ । सुरुमा मेट्रो होटलमा २ दिन बसेका उनी त्यसपछि शुभ होटलमा सरेका थिए । यादवको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको बताउँदै प्रहरी उपरीक्षक कटवालले विस्तृत अनुसन्धान भइरहेको बताए ।

भारतीय सञ्चार माध्ययमका अनुसार कुनै समय खान सरले परिचित फैजल खान र प्रिन्सका दाजु रोशन आनन्दसँगै अध्यापन गराउँथे । कोरोना महामारीको समयमा कोचिङ सेन्टर सुरु गरेपछि उनीहरुबीच टकराव सुरु भएको थियो ।

गत जुन २ मा भने ज्ञानबिन्दु कोचिङ सेन्टरका सञ्चालक रोशन आनन्दको समूहले खान सरको सेन्टरमा आक्रमण गरेको आरोप छ । सो घटनामा खान ग्लोबल स्टडिजका सुरक्षाकर्मीले पनि गोली चलाएको देखिएको थियो । यो घटनामा बिहार प्रहरीले फैजल खानलाई पनि पक्राउ गर्न खोजेको थियो । तर,उनको गिरफ्रतारीमा अदालतले रोक लगायो । ज्ञानबिन्दु कोचिङ सेन्टरका सञ्चालक रोशन आनन्द भने प्रहरी हिरासतमै छन् ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया