काठमाडौं, ३१ जेठ २०८३ । चर्चित सेफ सन्तोष साह दुई दिनदेखि प्रहरी थुनामा छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनको रेस्टुरेन्ट सञ्चालक सदस्यमध्येका एक नारायण साह सुडीलाई पनि पक्राउ गरेको हो ।
टोलीले साह र सुडीलाई शुक्रबार (जेठ २९) राति जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि दुवैजनालाई नियन्त्रणमा लिइएको अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
थप अनुसन्धान गर्न टोलीले उनीहरू दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । साह र सुडीलाई सोमबार (असार १) जिल्ला अदालत पेस गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिनेछ ।
प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको सुइँको पाएपछि काठमाडौं छाडेर साह जनकपुर पुगेका थिए । प्रहरी सकेसम्म उनलाई काठमाडौंबाटै पक्राउ गर्न चाहन्थ्यो । अदालतबाट पक्राउ अनुमति पाएपछि पनि आफूहरूले उनी काठमाडौं फर्कने दिन कुरेको प्रहरी स्रोतको भनाइ छ ।
लामो समय कुर्दा पनि साह काठमाडौं नआएपछि अपराध अनुसन्धान कार्यालयको टोली जनकपुर पुगेको थियो । कार्यालयका एक अधिकारी भन्छन्, “सन्तोष साहको ठगी तथा बैंकिङ कसुरको मुद्दा हो । त्यसैमा पक्राउ अनुमति आएको थियो । ठगी र बैंकिङ कसुर दुवै पीडितसँगको सहमतिमा मिलापत्र गर्न सकिने कसुर हो । तर, उहाँ त्यसबाट भाग्न खोज्नुभयो ।”
साहविरुद्ध शकुन्तला अधिकारी थापाले प्रहरीमा उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि उनलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । जिल्ला अदालतले साहसहितका आरोपितविरुद्ध जेठ २३ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
के हो सन्तोष साहमाथिको आरोप ?
सिरहाका ४१ वर्षीय सन्तोष चर्चित नेपाली सेफ हुन् । उनले जनकपुरदेखि ललितपुरको झम्सीखेल र काठमाडौंको गैरीधारामा ‘मिथिला थाली’ रेस्टुरेन्ट सञ्चालन गरेका छन् । नेपालमा रेस्टुरेन्ट व्यवसाय गर्नुअघि साह लन्डनमा बस्थे ।
उनले सन् २०२० मा बेलायतमा खानाका परिकारसम्बन्धी ‘बीबीसी मास्टरसेफ द प्रोफेसनल्स’मा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धामा साह ‘सेकेन्ड रनरअप’ घोषित भए । साहको चर्चा त्यहीँबाट सुरु भएको हो ।
बीबीसीमा प्रतिस्पर्धाअघि उनले भारतको इन्स्टिच्युट अफ बडोदाबाट होटेल एन्ड क्याटरिङ म्यानेजमेन्टमा डिप्लोमा गरेका थिए । उनी सन् २०१० मा लन्डन गएका थिए ।
२०२० को उक्त प्रतिस्पर्धापछि उनी नेपाल फर्किए । र, ‘मिथिला थाली’ रेस्टुरेन्टको चेन सञ्चालनमा संलग्न भए ।
साहले ०८० जेठमा जनकपुर र ०८१ वैशाखमा ललितपुरको झम्सीखेलमा करोडौँ रुपैयाँको लगानीमा मिथिला थाली सञ्चालन गरे । त्यसैको विस्तारका क्रममा काठमाडौंको गैरीधारास्थित एउटा रेस्टुरेन्ट खरिद प्रक्रियामा विवाद बढ्यो ।
शकुन्तला थापाले गैरीधारामा करिब पाँच करोड रुपैयाँ लगानीमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी थिइन् । कोरोना महामारीसँगै शकुन्तलाको रेस्टुरेन्ट घाटामा गयो । उनी रेस्टुरेन्ट चलाउन नसक्ने अवस्थामा पुगिन् । त्यसपछि साह र शकुन्तलाबीच रेस्टुरेन्ट खरिद–बिक्री गर्ने सहमति भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
सन्तोषले एक करोड ३० लाख रुपैयाँमा शकुन्तलाको रेस्टुरेन्ट खरिद गर्ने सहमति भयो । शकुन्तलालाई सन्तोषले सुरुमा १५ लाख रुपैयाँ मात्र नगद दिए । र, तीन महिनामा साट्ने गरी २५ लाखको चेक दिए ।
चर्चित व्यक्ति साहले आफ्नो रेस्टुरेन्ट खरिद गरेपछि समस्यामा पार्लान् भन्ने शकुन्तलालाई लागेको थिएन । साहले दिएको २५ लाख रुपैयाँको चेक तीन महिना बित्दा पनि साटिएन ।
चेक नसाटिएपछि त्यसबारे पटक–पटक सन्तोष र शकुन्तलाबीच छलफल भयो । रेस्टुरेन्ट बिक्री गरेकी शकुन्तलाले सम्पूर्ण जिम्मा सन्तोषलाई सुम्पिइसकेकी थिइन् ।
प्रहरीका अनुसार, पटक–पटकको आग्रहपछि पनि २५ लाखको चेक नसाटिएपछि शकुन्तलाले ‘चेक बाउन्स’ गरिन् । चेक बाउन्सपछि पनि उनीहरूबीच प्रहरी कार्यालयसम्म पुगेर छलफल भयो ।
प्रहरी कार्यालयमा साहले रकम तिर्ने कबोल गरे । तर, उनले रकम नदिईकन रेस्टुरेन्ट समेत हत्याएपछि शकुन्तला अदालत जान बाध्य भइन् । अदालतले साहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी थुनामा पुगेका हुन् ।
प्रहरीले साहविरुद्ध बैंकिङ कसुर र ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।बाह्रखरीबाट






