काठमाडौं, २८ जेठ २०८३ । विश्वव्यापी रूपमा रासायनिक मलको आपूर्ति शृंखला प्रभावित भइरहेका बेला नेपाललाई आवश्यक मल उपलब्ध गराउन भारतले विशेष सहयोग गर्ने भएको छ । नेपाल सरकारको अनुरोधपछि भारतले ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको हो । कृषि सामग्री कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले भारतले ५० हजार मेट्रिक टन मल उपलब्ध गराउने जानकारी दिए ।
यसअन्तर्गत नेपालको सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडलाई ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल उपलब्ध गराइने भएको छ । भारतको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्सले उक्त मल उपलब्ध गराउने जिम्मेवारी लिएको बताइएको छ ।
भारतले आवश्यक मलको व्यवस्था गर्नुका साथै नेपालका लागि सहुलियतपूर्ण मूल्य समेत सुनिश्चित गरेको जनाएको छ । हाल दुवै पक्षबीच खरिदसम्बन्धी प्राविधिक विषयमा छलफल जारी रहेको र आवश्यक प्रक्रिया पूरा भएपछि मल आपूर्ति सुरु हुने अपेक्षा गरिएको छ ।
नेपालमा बेला–बेलामा देखिने मल अभावको समस्या समाधान गर्न यस सहयोगले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । कृषि उत्पादन वृद्धि तथा किसानको आवश्यकतालाई ध्यानमा राखेर गरिएको यस पहलले खेतीपातीको समयमा मलको उपलब्धता सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
यो सहयोगलाई नेपाल–भारतबीचको घनिष्ठ सम्बन्ध र कठिन परिस्थितिमा पनि एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धताको उदाहरणका रूपमा हेरिएको छ । दुवै देशबीचको सहकार्यले कृषि क्षेत्रको विकास र खाद्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।






