काठमाडौँ, १ जेठ २०८३ । प्रत्येक वर्ष मे १७ तारिखमा मनाइने ‘विश्व उच्च रक्तचाप दिवस’ यस वर्ष नेपालमा पनि विभिन्न जनचेतनामूलक सन्देशका साथ मनाइँदैछ।
यस वर्षका लागि ‘उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ: जाँच गरौँ नियमित रक्तचाप, परास्त गरौँ मृत्युको मौन कारक’ भन्ने नारा तय गरिएको छ।
यस अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापको रोकथाम, समयमै पहिचान र प्रभावकारी व्यवस्थापनका लागि सबै नागरिक र सरोकारवाला निकायमा विशेष आह्वान गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। अनुज भट्टचनले जारी गरेको सन्देशअनुसार नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ। त्यसमध्ये २७।३६ प्रतिशत मृत्यु मुटु तथा रक्तनली सम्बन्धी रोगहरूका कारण हुने गरेको र यसको प्रमुख कारक उच्च रक्तचाप रहेको उल्लेख छ।
राष्ट्रिय स्टेप्स सर्वेक्षण (२०७६/७७) का अनुसार नेपाली वयस्कहरूमा उच्च रक्तचापको दर २४.५ प्रतिशत पाइएको छ। बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपान र मानसिक तनावले यसको जोखिम निरन्तर बढाइरहेको छ।
धेरै व्यक्तिमा कुनै स्पष्ट लक्षण नदेखिने भएकाले उच्च रक्तचापलाई ‘मौन घातक’ मानिन्छ। समयमै पहिचान र उपचार नभएमा यसले हृदयघात, मस्तिष्कघात र मृगौला रोग जस्ता जटिल समस्या निम्त्याउने भएकाले नियमित जाँच आवश्यक रहेको मन्त्रालयको भनाइ छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १।४ अर्ब मानिस यसबाट प्रभावित छन् र प्रभावितमध्ये ठूलो हिस्सा आफ्नो रोगबारे अनविज्ञ रहेका छन्।
मन्त्रालयले ३० वर्षभन्दा माथिका सबैलाई वर्षमा कम्तीमा एकपटक रक्तचाप जाँच गराउन आग्रह गरेको छ। यस्तै, नुन र चिल्लो खाना कम गर्न, ताजा फलफूल र तरकारीको सेवन बढाउन, दैनिक ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्न र मद्यपान तथा धूम्रपानबाट टाढा रहन सुझाव दिइएको छ।
उच्च रक्तचाप देखिएका व्यक्तिहरूले चिकित्सकको परामर्शअनुसार नियमित औषधि सेवन गर्न र आफूखुशी औषधि बन्द नगर्न समेत मन्त्रालयले सचेत गराएको छ। सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम नसर्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको समेत जानकारी दिएको छ।






