झापा, २७ वैशाख २०८३ । बिर्तामोड नगरपालिकाले मात्र जिल्ला प्रशासन कार्यालय झापामा अतिक्रमित जग्गाको विवरण बुझाएको छ ।नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको बैठकवाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीको बुँदा नं. ९२ बमोजिम अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले बैशाख १४ गते पत्र पठाउँदै झापाका सबै पालिकाहरुसंग अतिक्रमित जग्गाको विवरण माग गरेको थियो । तर, गत बिहीवारको बैठकमा बिर्तामोड नगरपालिकाले मात्र विवरण पेश गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
झापाका अन्य पालिकाहरुले अतिक्रमित जग्गाको विवरण पेश नगरेपछि जिल्ला प्रशासन कार्यालयले अर्को पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालयले विवरण मागसंगै जग्गा अतिक्रमण हटाउन वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्ने कार्ययोजना निर्माण लगायतका आवश्यक व्यवस्था मिलाउन पालिकाहरुलाई आदेशसमेत दिएको छ ।
पालिकामा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घरपरिवारमध्ये को वास्तविक सुकुम्वासी हुन् र को होइनन् भन्ने पहिचान सम्बन्धित स्थानीय तहबाट गर्न, वास्तविक पहिचान गरिएका सुकुमबासीलाई तत्काल अन्यत्र व्यवस्थापन (सुरक्षित आवास, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधी उपचार तथा परामर्श, महिला तथा अपाङ्गतामैत्री आवास कक्ष, सुरक्षा प्रबन्ध लगायत) योजनाको तयारी सम्बन्धित स्थानीय तहबाट गर्न, वास्तविक सुकुमबासीलाई व्यवस्थापन गर्ने योजनासहित आवश्यक सुरक्षा प्रबन्धका लागि जिल्ला प्रशासन कार्यालयमा माग गर्न र सरकारी तथा सार्वजनिक जग्गाबाट अतिक्रमण हटाउने कार्यका सम्बन्धमा आम जनतालाई सुसूचित गर्न आदेश दिइएको हो ।






