Online Bichar
बुधबार, बैशाख २३, २०८३ | Wednesday, May 6, 2026

काठमाडौं, २३ वैशाख २०८३ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पती प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) ले रेड नोटिसमा राख्न प्रक्रिया थालेको करिब एक महिना पूरा गर्दा पनि रेड नोटिस जारी गरेको छैन ।

प्रहरीप्रधान कार्यालयका एक अधिकारीले देउवा दम्पतीमाथि रेड नोटिस प्रक्रियाकै चरणमा रहेको जानकारी दिए । ती अधिकारीले भने, “देउवा दम्पतीमाथि रेड नोटिस जारी अझै प्रक्रियामा नै छ । कुनै निर्णय भएको छैन ।”

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणामाथि पक्राउ पुर्जी जारी भएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । तर, देउवा दम्पती देशबाहिर रहेकाले विभागले प्रहरीको एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो) ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो ।

तर, इन्टरपोलको केन्द्रीय कार्यालय फ्रान्सले भने देउवा दम्पतीमाथि रेड नोटिस जारी गर्न अझै एनसीबी काठमाडौंसँग थप कागजात मागेको जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले चैत २४ मा पक्राउ अनुमति दिएको थियो ।

देउवा दम्पती सिगापुर हुँदै केही समयअघि हङकङ पुगेको बताइएको थियो । तर, अहिले उनीहरू कहाँ छन् भन्नेबारे खुलेको छैन ।

 

तपाईको प्रतिक्रिया