Online Bichar
सोमबार, बैशाख २१, २०८३ | Monday, May 4, 2026

काठमाडौं, २१ वैशाख २०८३ । पाटनको कृष्णमन्दिर अगाडि चक्कु प्रहार गरेर दुई दाजुभाइको हत्या गर्ने सन्जीव नेपालीमाथिको अनुसन्धान प्रहरीले सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान सम्पन्न गर्दै अभियोजनका लागि जिल्ला सरकारीको वकिल कार्यालय ललितपुरलाई प्रतिवेदन बुझाएको हो ।

परिसरका एसपी गौतम मिश्रका अनुसार प्रहरीले नेपाली माथि जन्म कैदको सजाय हुनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ। एसपी मिश्रले भने,‘‘ हामीले अनुसन्धान प्रतिवेदन आज बुझायौँ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय हुनुपर्ने मागसहितको राय दिएका छौँ ।’’

गत चैत २५ मा ललितपुर भोलढोकाका ३२ वर्षीय नेपालीले झापाका २६ वर्षीय सिर्जन नेम्वाङ र सुमित नेम्वाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए ।

चक्कु प्रहार गरेर भाग्दै गरेका नेपालीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीको अनुसन्धानका क्रममा नेपालीसित अर्का युवा नवलपरासी गैँडाकोट–१ का गगन सुनारसमेत चक्कु प्रहार गर्न पुगेको खुलेपछि उनलाई पनि पक्राउ गरेको थियो । गगनको हकमा भने मतियार भूमिका कैद सजाय माग गरिएको छ ।

हत्या लगत्तै नेपालीलाई प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याउन सफल भएको भन्दै पीडित परिवारले प्रहरीलाई नगद रुपैयाँसहित गत शुक्रवार सम्मान गरेको थियो ।

 

तपाईको प्रतिक्रिया