झापा, १७ वैशाख २०८३ । झापाको दमक नगरपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बुधबार (हिँजो) दिउँसो करिब १:४५ बजेको समयमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–९ क्षेत्रबाट एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोही स्थान बस्ने ३७ वर्षीय मन कुमार लिम्बु रहेका छन्। उनलाई शंकास्पद अवस्थामा सडकमा हिँडिरहेको अवस्थामा फेला पारी शरीर खानतलासी गर्दा उनले लगाएको हाफ ज्याकेटको देब्रे गोजीमा लुकाई राखेको खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्लास्टिकसहित ६ ग्राम ३५० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ८० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। बरामद लागूऔषधलाई नियमअनुसार नियन्त्रणमा लिइएको छ। पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






