Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

सिरहा, ८ वैशाख २०८३ । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई मंगलबार बिहानै नियन्त्रणमा लिइएको हो।

दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीहरूको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेपछि कारागारभित्र तनाव सुरु भएको थियो। कैदीबन्दीहरूबीच गुटबन्दी गर्दै अशान्ति फैलाउने प्रयास भएपछि सुरक्षा निकायले हस्तक्षेप गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार कारागारको सुरक्षा र अनुशासन कायम राख्न प्रहरीले बिहानै विशेष ‘अपरेसन’ सञ्चालन गरेको हो। उनले भने, “कारागारभित्र केही कैदीबन्दीले चौकीदारलाई निष्कासन गरी प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेपछि सुरक्षा चुनौती बढेको थियो। थप झडप हुन नदिन २२ जनालाई नियन्त्रणमा लिइएको छ।” नियन्त्रणमा लिइएका कैदीबन्दीलाई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि गत माघ महिनामा पनि कारागारभित्र कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेको घटनापछि तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको थियो। उक्त घटनाको विरोधमा कैदीबन्दीहरूले दुई दिनसम्म प्रदर्शनसमेत गरेका थिए। कारागारभित्र बारम्बार हुने यस्ता घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।रासस

तपाईको प्रतिक्रिया