बिर्तामोड, ७ वैशाख २०८३ । झापाको बिर्तामोडस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले बालबालिकालाई लक्षित गर्दै १५ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ।
अस्पतालमा आजदेखि सुरु भएको शिविर वैशाख २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ। समुदायमा रहेका आमाबाबुलाई बाल स्वास्थ्यको महत्त्वबारे सचेत गराउँदै सहज पहुँचमा गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रबन्ध निर्देशक तथा नवजात शिशु एवं बालरोग विशेषज्ञ डा। रूपक आचार्यका अनुसार आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकालाई शिविरले ठूलो राहत पुग्ने विश्वास गरिएको छ। विपन्न तथा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसका आधारमा थप छुटको व्यवस्था गरिने उनले जानकारी दिए।
शिविर अवधिभर अस्पतालले ओपिडी सेवा निःशुल्क प्रदान गर्नेछ भने अन्य सेवामा तथा ल्याब परीक्षणमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत डा। सुजता मैनाली आचार्यले बताइन्।
नवजात शिशुदेखि बालबालिकासम्मका बिरामीलाई विशेषज्ञ चिकित्सक टोलीमार्फत सेवा दिइनेछ। बाल रोग तथा पोषणसम्बन्धी समस्याको पहिचान र उपचारमा विशेष ध्यान दिइने अस्पतालले जनाएको छ।
अस्पतालकी अध्यक्ष लीला मैनालीले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बालबालिकालाई सेवा प्रदान गर्नु शिविरको मुख्य उद्देश्य भएको बताइन्। उनले शिविरको अवसर उपयोग गर्दै आफ्ना बालबालिकाको स्वास्थ्य परीक्षण गराउन अभिभावकलाई आग्रह गरिन्। उनले पत्रकारका छोराछोरीको उपचारमा पनि बिर्तामोड चिल्ड्रेन अस्पतालले २० प्रतिशत छुट दिने प्रतिबद्धता जनाइन् ।
झापामा बालबालिकाका लागि छुट्टै अस्पतालको अभाव रहेको अवस्थामा बिर्तामोड चिल्ड्रेन अस्पताल जिल्लाकै पहिलो चिल्ड्रेन अस्पताल भएको अस्पताल प्रशासनले जनाएको छ।






